‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ ललितपुरमा

काठमाडौं, फागुन ११ । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्।
गजलकार अलीले आगामी चैत २ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा आफ्नो प्रस्तुति दिने आयोजक साधना कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए।
उनले भने, ‘गजलकार अलीले छोरा आमिर गुलाम अली र नाति नाजिर गुलाम अलीका साथ एउटै स्टेजमा प्रस्तुति दिनुहुने छ। उहाँलाई नेपाल आउने इच्छा भएकाले हामीले कार्यक्रम आयोजना गर्न लागेका हौँ।’ अध्यक्ष मोक्तानका अनुसार गजलकार अली यही फागुन ३० गते नेपाल आउने कार्यक्रम छ।
सङ्गीतकार दीपक जङ्गमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे। ‘उहाँसँग मैले काम गर्ने अवसर पाएको छु। उहाँलाई प्रत्यक्ष सुन्ने र हेर्ने दर्शकझैँ सङ्गीतकर्मीको पनि सपना हुन्छ। त्यसैले यो कार्यक्रम दर्शकझैँ सङ्गीतकर्मीका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,’ उनले भने।
गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’, ‘निधारमा’ लगायत नेपाली गीत र गजल प्रसिद्ध छन्।