मस्कले अमेरिकाका सरकारी कर्मचारीसँग मागे एक हप्ताको प्रगति विवरण

काठमाडौं, ११ फागुन । ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई एकहप्ताको प्रगति विवरण पेश गर्न र नगरे राजीनामा दिन निर्देशन दिएको छ ।
शनिबार दिउँसो सरकारी कार्यदक्षता विभाग (डज)का प्रमुख एलन मस्कले इमेल पठाएर एक हप्ताको प्रगति विवरण माग गरेका हुन् ।
उनले अमेरिकाका सरकारी कर्मचारीहरुलाई पठाएको इमेलको विषयमा लेखिएको छ–गत हप्ता तपाईंले के काम गर्नुभयो ?
राष्ट्रपति ट्रम्पले अर्बपति उद्यमी मस्कलाई सरकारी खर्च कटौती र सेवा प्रवाह चुस्त बनाउने उद्देश्यले गठन गरिएको विभागको प्रमुख पदमा नियुक्त गरेका छन् । उनले सरकारलाई अनावश्यक भार पर्ने कार्यालयहरु र कर्मचारीहरु कटौती गर्ने नीति रहेको बताएका थिए ।
उनले हालै एक्समा लेखेका थिए, ‘कर्मचारीहरुलाई छिटै एक इमेल प्राप्त हुने छ । यसको उद्देश्य कर्मचारीहरुले पछिल्लो हप्ता कुन काम पूरा गरे भनेर जान्नु हो ।’ मस्कले थप लेखेका थिए, ‘यदि तपाईं यो इमेलको जवाफ दिन असफल भएमा तपाईंले राजीनामा दिएको बुझिने छ ।’
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मस्कले पाँच बुँदामा जवाफ दिन भनेका छन् । त्यो जवाफको कपी आफ्नो कार्यालय प्रमुखलाई पनि पठाउन भनिएको छ । कर्मचारीहरुलाई जवाफ दिने अन्तिम समय सोमबार राति १२ बजेसम्म तोकिएको छ ।