आइतबार ११ फागुन, २०८१

हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसद केसीको माग

हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउन कांग्रेस सांसद केसीको माग

काठमाडौं, ११ फागुन । सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रु एक हजार र रु पाँच सयको नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । 

आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै कांग्रेस सांसद केसीले यस्तो माग गरेका हुन । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तरदेशीय संस्था (एफएटीएफ)ले नेपाललाई आधिकारीक रुपमा ग्रे लिस्टमा राखेको छ ।

ट्रान्सफरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचंकांकमा नपाल एक श्रेणीमा अगाडी परेको उल्लेख गर्दै कांग्रेस सांसद केसीले यस्तो बताएका हुन । उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले कदम चाल्नुपर्ने  बताए ।

यो विषयमा संसद्मा गम्भीर छलफल हुनुपर्ने माग उनले राखे । सुधारका लागि उनले हजार र पाँच सयका नोटमा समेत प्रतिबन्ध लगाउनुपर्ने माग राखेका हुन् ।

उनले भने, ‘हजार र पाँच सयका नोटमा प्रतिबन्ध लगाउनुका साथै राष्ट्रियरअन्तर्राष्ट्रिय साख र विश्वसनीयता स्थापना गर्न आजसम्मका चर्चित भ्रष्टाचार कान्डहरूको निष्पक्ष छानबिन गर्न पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय शक्तिशाली न्यायिक आयोग गठन गरौं,’ उनले भने । यो अपरिहार्य भएको उनले दोहोर्‍याए ।