आइतबार ११ फागुन, २०८१

रास्वपा सांसद डा. तोसिमा कार्कीले भनिन्- पाथीभरामा केबुलकार निर्माण स्थगन गरियोस्

रास्वपा सांसद डा. तोसिमा कार्कीले भनिन्- पाथीभरामा केबुलकार निर्माण स्थगन गरियोस्

काठमाडौं, ११ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माण कार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ ।

आइतबार प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै रास्वपाकी सांसद तोसिमा कार्कीले पार्टीकै तर्फबाट यस्तो माग राखेक हुन् ।

बैठकको आकस्मिक समयमा बोल्दै रास्वपा सांसद डा. तोसिमा कार्कीले तत्कालका लागि केबलकार निर्माण रोक्न माग गरेकी छन् ।

कार्कीले तत्काल निर्माण रोकी आन्दोलनरत पक्षसँग वार्ता गरेर सहमति खोज्न भनेकी छन् । उनले थुनामा रहेकाहरूलाई तत्काल रिहा गर्न पनि माग गरेकी छन् ।

‘पटक पटक प्रहरी प्रशासन र आन्दोलनकारीबीच झडप हुने, घाइते हुने भइरहेको छ । गोलीसमेत चल्ने र करोडौंको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखा पर्यो । अहिले निषेधाज्ञा लागेको छ’, उनले भनिन्, ‘यसरी राज्यको अर्कमर्णयताका कारण नागरिक ‘एस’ केवलकार र ‘नो केवलकार’ मा विभाजित भए । अराजकता देखियो । आन्दोलितहरू आक्रोशित छन् । सरकारले यसमा निकास दिन सकेका छैनन् । समाजवादको नारा भजाउने पार्टी नै सरकारमा हुँदा पनि यस्तो तनाव किन ?’

सांसद कार्कीले आन्दोलनकारीसँगको सहमति सरकारले उल्लंघन गरेको आरोप पनि लगाइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनले जिकिर गरिन् ।

‘सरकारले जनतामा देखाएको अभिभावकत्व यही हो त ? त्यहाँ संरचना बनाउँदा विवादरहित हुनुपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन । यसअघि पनि सम्झौता भएको थियो । तर, कार्यान्वयन सकेन’, उनले भनिन्, ‘माघ २२ गते पनि सम्झौता भयो । कार्यान्वयन हुन सकेन । निश:र्त रिहा गर्ने भनेकामा धरौटी लिइएको छ। सरकारबाट सहमति उल्लंघन भएको छ । सरकारप्रति नागरिकको विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माण हुँदैछ, त्यही ठाउँमा नागरिकलाई लाठ्ठी हानेर, गोली प्रहार गरेर गरिएको विकास भन्ने कि विनाश ? हामी पार्टीको तर्फबाट केबलकार निर्माण रोक्न माग गर्दछौँ ।’

केबलकार निर्माण विरोधीको प्रदर्शनका क्रममा शनिबार राति तनाव भएपछि फुङलिङमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले आइतबार बिहान ५ बजेदेखि लागु हुनेगरी फुङलिङ बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार राति फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रदर्शन र जुलुसका कारण प्रतिकुल परिस्थिति सिर्जना हुन गएकाले शान्ति सुरक्षा भंग हुन सक्ने देखिएपछि शनिबार रातिको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बताए ।

यसअघि स्थानीयसँग भएको सहमति समेत कार्यान्वयन नभएको र सहमति कार्यान्वयन नभएपछि सरकारसँग नागरिकको विश्वास डगमगाएको उनले बताए ।