पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न राप्रपाको माग

काठमाडौं, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पाथीभरामा केबुलकार निर्माण कार्य रोक्न माग गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै यस्तो माग गरेका हुन् ।
‘त्यहाँ त्यो काम (केबुलकार निर्माण) अविलम्ब रोकियोस् । त्यो कसैको हितमा छैन,’ उनले भने, ‘त्यो अशान्त वातावरणलाई शान्त बनाउने एउटै उपाय– केबुलकार निर्माण स्थगन गर्ने हो ।’ यो काम तत्काल गर्न सरकारलाई उनको आग्रह छ । रक्तपात नगर्न सरकारलाई उनको आग्रह छ ।
‘...आज भाइ–भाइ लडाउने काम भइराखेको छ एउटा व्यापारिक स्वार्थका लागि ?’ आकस्मिक समयमा बोल्दै अध्यक्ष लिङ्देनले प्रश्न गरे ।
यो विषयमा राजनीतिक दलहरू, नागरिक समाज र मानव अधिकार आयोगको समेत ध्यान पुग्न नसकेको उनले बताए । ‘आज पूर्व पाथीभरा क्षेत्र अशान्त भइराखेको छ । एक प्रकारले भन्ने हो भने रणमैदानमा परिणत भइराखेको छ’ उनले भने ।
प्रधानमन्त्रीले, गृहमन्त्रीले त्यो भिडियो हेर्नुभएको छ कि छैन ? समाचार सुन्नुभएको छ कि छैन ?’ उनले प्रश्न गरे, ‘राजनीतिक दलहरूले पनि त्यो विषयलाई किन अन्देखा गरेको ?, मानव अधिकार आयोग र नागरिक समाज किन अन्देखा गरेर बसिराखेको छ ?’
वार्तामार्फत समस्या समाधान गर्नका लागि उनले सरकारलाई आग्रह गरे ।