रिंकु बलात्कार प्रकरण : घटना दबाउन पञ्चायत बसेका ८ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, ११ फागुन । सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी रिंकु सदाय मृत्यु प्रकरणको अनुसन्धानका लागि प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिएको आरोपमा ८ जनालाई नियन्त्रणमा लिइएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, घटना लुकाउन् कोही पञ्चायतमा सहभागी छन् भने कोही प्रत्यक्ष,अप्रत्यक्ष उक्त घटना लुकाउनमा भूमिका खेलेका ८ जनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको छ । घटना दबाउन पीडित परिवारलाई आर्थिक प्रलोभन दिएको पुष्टि भए उनीहरूमाथि पनि कारबाही गरिने प्रहरीले जनाएको छ ।
गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पुर्याएका थिए । उक्त घटना लेनदेनमा मिलाउन पञ्चायत बसेको बिहानपल्ट माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने ५ पञ्चसहित आठ जनामाथि कर्तव्य ज्यान, जबरजस्ती करणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चार वटा शीर्षकमा पूरक जाहेरी दिएको छ ।