सोमबार १२ फागुन, २०८१

प्राधिकरणले जारी गर्‍यो मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, नगद तथा नगदजन्य उपकरणको क्षतिको पनि बीमा हुने

प्राधिकरणले जारी गर्‍यो मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, नगद तथा नगदजन्य उपकरणको क्षतिको पनि बीमा हुने

काठमाडौं, १२ फागुन ।  नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीले बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न ‘मौद्रिक क्षति बीमासम्बन्धी निर्देशन, २०८१’ लागू गरेकाे छ । प्राधिकरणले नगद तथा नगदजन्य उपकरणका ओसरापसामा हुने जोखिमको बिमा गर्न मौद्रिक क्षति सम्बन्धी निर्देशन २०८१ जारी गरेको हो ।

बैंक तथा वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रक्रियामा रहेको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षण (सेक्युरिटी)मा आइपर्न सक्ने जोखिमहरुविरुद्धको रक्षावरण गर्ने बीमासम्बन्धी व्यवस्थालाई व्यवस्थित गर्न वाञ्छनीय भएकोले बीमा ऐन, २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको प्राधिकरणले जनाएकाे छ ।

बीमकले नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका लागिमात्र बैंकर क्षतिपूर्ति बीमालेख जारी गर्न पाउनेछन् । प्राधिकरणले उक्त निर्देशन अनुसारको बिमालेखको बिमाशुल्क समेत तोकेको छ । बैंकर क्षतिपूर्ति बिमालेखमा आधारभूत बिमांकको बिमाशुल्क एकमुष्ठ २.७५ प्रतिशत तोकेको छ ।

यस्तै, अतिरिक्त बिमांकको बिमाशुल १ प्रतिशत प्रति रक्षावरण लाग्ने निर्देशनमा उल्लेख छ । निष्ठा जमानी वापतको बिमाशुल्क प्रतिकर्मचारी १० रुपैयाँ, हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकबाद सम्बन्धी जोखिम समूहको बिमाशुल्क ०.६५ प्रतिशत र प्रचलित सम्पत्ति बिमा बमोजिमका जोखिमथप गरे वापतको बिमाशुल्क: ०.१५ प्रतिशत लाग्ने निर्देशनमा उल्लेख छ । 

यस्तै, नगद बिमालेखमा काउन्टरमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षणको बिमाशुल्क प्रति हजार २ रुपैयाँ लाग्नेछ । सेफ/भल्टमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षणको बिमाशुल्क पनि प्रति हजार २ रुपैयाँ लाग्नेछ । बिमा अवधिभित्र एक पटकमा गरीने अधिकतम मार्गस्थ नगद तथा नगदजन्य उपकरण र सुरक्षण रकममा १.५ प्रतिशत बिमाशुल्क लाग्ने निर्देशनमा उल्लेखछ । नगद बाहेकका अन्य नगदजन्य उपकरणको बिमाशुल्क प्रतिहजार २ रुपैयाँ लाग्नेछ ।

हुलदंगा, हड्ताल, द्वेषपूर्ण कार्य र आतंकबाद सम्बन्धी जोखिम समूहको बिमाशुल्क प्रतिहजार १ रुपैयाँ २५ पैसा लाग्नेछ।प्रचलित सम्पत्ति बिमा अनुसारका जोखिम थप गरे वापतको बिमाशुल्क प्रतिहजार १ रुपैयाँ ५० पैसा नै लाग्नेछ । निष्ठा जमानी बिमातर्फ जोखिममा रहेको बिमांक रकमको बीमाशुल्क प्रतिहजार ५ रुपैयाँ लाग्नेछ । बिमामा समावेश भएका कर्मचारीहरुको बिमाशुल्क प्रतिकर्मचारी १०० रुपैयाँ लाग्ने निर्देशनमा उल्लेख छ ।