सोमबार १२ फागुन, २०८१

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र अजरबैजानका विदेशराज्यमन्त्री भेटवार्ता

काठमाडौं, १२ फागुन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबीच  जेनेभामा सोमबार द्विपक्षीय भेटवार्ता भएको छ । 

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहेका उनीहरूबीच साइडलाइन भेटवार्ता भएको हो । 

भेटका अवसरमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासोका विषयमा कुराकानी भएको थियो । भेटमा मन्त्री डा देउवाले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय २९ औँ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकोमा अजरबैजानलाई बधाई ज्ञापन गरेकी थिइन् ।

नेपाल र अजरबैजान नाम र जी ७७ संगठनका सदस्यका रुपमा विकासशील देशहरूका समस्याहरू साझा रुपमा अन्तर्राष्ट्रिय मञ्चमा उठाउँदै आएको मन्त्री डा देउवाले बताइन् । 

मन्त्री डा देउवाले जलवायु परिवर्तनका क्षेत्रमा अजरबैजानको प्रतिबद्धताको सराहना गर्दै आगामी दिनमा पनि दुवै देशले विकासशील देशहरूमा जलवायु परिवर्तनले पारेको प्रभावबारे अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा आवाज उठाउने बताइन् ।

साथै उनले आगामी मे महिनामा नेपालले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर सगरमाथा संवाद कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरेकाले त्यसमा सहभागिताका लागि अजरबैजानलाई पनि आमन्त्रण गरिन् ।