२०८१ को दण्डपाणि-नन्दकुमारी पुरस्कार अन्सारीलाई

काठमाडौं, १२ फागुन । २०८१ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार मानव अधिकारवादी तथा महिला सशक्तीकरणकी अभियन्ता मोहना अन्सारीलाई प्रदान गरिने भएको छ।
कोष संस्थापक मध्येबाट हरिहर अर्याल र राजेन्द्रप्रसाद अर्यालको उपस्थितिमा दण्डपाणि अर्ज्याल स्मृति केन्द्रका अध्यक्ष वरिष्ठ ई. ईश्वरचन्द्र बानियाको अध्यक्षतामा फागुन ११ गते बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको महासचिव कपिलचन्द्र खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
वि.सं. २०६२ सालमा स्थापित स्मृति केन्द्रले आफ्नो स्थापना कालदेखि राष्ट्रिय महत्त्वका विषयमा योगदान पुऱ्याउने राष्ट्रिय प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ।
यसअघिका वर्षहरूमा स्मृति केन्द्रले इतिहास विज्ञ ज्ञानमणि नेपाल , साहित्यकार मदनमणि दीक्षित, संस्कृतिविद् सत्यमोहन जोशी, इतिहासकार तुलसीराम वैद्य , इतिहासकार दिनेशराज पन्त , साहित्यकार डा. मोदनाथ प्रश्रित, शिक्षासेवी प्रा.डा.सुरेशराज शर्मा , राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी लगायतका डेढ दर्जनभन्दा बढी विद्वत् प्रतिभालाई सम्मान गरेको छ।
यही फागुन १७ गते शनिबार प्रज्ञा प्रतिष्ठानको हलमा पुस्तक विमोचन तथा संस्थाको साधारण सभाको भव्य कार्यक्रमको बीचमा उक्त पुरस्कार अन्सारीलाई प्रदान गरिने भएको छ। पुरस्कारको राशी ५० हजार रुपैंया रहेको छ ।