मंगलबार १३ फागुन, २०८१

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्न सक्ने

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा, २ सेकेन्डमा १० जनाले दर्शन गर्न सक्ने

काठमाडौं, १३ फागुन । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्मेलन गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि १० उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए । उनले भने, 'यसपटक हामीले दुई सेकेन्डमा दश जनालाई दर्शन गर्न सक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहज रूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।'

उनले पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन/तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहने जानकारी दिए । संयोजक खत्रीले पशुपति परिसर प्लाष्टिक निषेधित क्षेत्र भएकाले दर्शन गर्न आउने भक्तजनले सोहीअनुरुप बुझिदिन आग्रह गरे ।

'हामीले फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ', संयोजक खत्रीले भने ।

उनले शिवरात्रिको तयारीका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्रमा सफाइ, शौचालय, खानेपानी र जुत्ताचप्पल राख्ने स्थानको सहज पहुँचको प्रबन्ध मिलाइएको छ ।