मंगलबार १३ फागुन, २०८१

एसपीको कमाण्डमा शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन

एसपीको कमाण्डमा शिवरात्रिको सुरक्षाका लागि चार हजार प्रहरी परिचालन

काठमाडौं,  १३ फागुन । महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित मेलामा हुनसक्ने सुरक्षा चुनौती विश्लेषण गरेर उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना बनाएको छ । 

फागुन १४ मा शिवरात्रि पर्व मनाइँदै छ । फागुन १३ बाट नै प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना तयार गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

काठमाडौँको पशुपति क्षेत्रको सुरक्षामा एसपीको कमाण्डमा ४ हजार २ सय प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले सुरक्षा कमाण्ड गर्नेछन् । एसपीको कमाण्डमा मंगलबारदेखि नै प्रहरी परिचालन गरिने उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘पशुपति क्षेत्रमा ४ हजार २ सयभन्दा बढी प्रहरी परिचाल गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ ।’

सुरक्षा व्यवस्थापन चुस्त बनाउन प्रहरीले पशुपतिनाथ मन्दिर परिसरमा कमाण्ड पोस्ट तयार गरेको छ । कमाण्ड पोस्टबाट एसपी बोहरा सहित, ३ जना डीएसपी र ४ जना इन्स्पेक्टरले मनिटर गर्नेछन् ।

चोरी, डकैती र झडपका घटना रोक्न डीएसपीको नेतृत्वमा ४० जना सादा पोसाकका प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको छ । शिवरात्रि अवधिभर ३ सिफ्टमा प्रहरी परिचालिन हुनेछन् । चारवटा वाकथ्रु गेटमा प्राविधिक सहितका सुरक्षाकर्मी खटिने छन् ।

प्रहरीले सुरक्षाको लागी मेटल डिटेक्टर र ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘अवाञ्छित गतिविधि रोक्न ड्रोनबाट निगरानी गर्छौँ ।’

अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनमा ७ जना डीएसपीलाई शिवरात्रि अवधिभर परिचालन गर्ने सुरक्षा योजना उपत्यका प्रहरी कार्यालयले स्वीकृत गरेको छ । मेला अवधिभर ८९ जना इन्स्पेक्टर परिचालिन हुनेछन् ।

एसपीको कमाण्डमा ८ सय ९० ट्राफिक परिचालन

शिवरात्रिमा पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिक व्यवस्थापनको कमाण्ड पनि एसपीले नै गर्ने भएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जय राउतले ट्राफिक व्यवस्थापनको कमाण्ड गर्ने उपत्यका प्रहरी कार्यालयका एसएसपी खनालले जानकारी दिए । उनले भने, ‘ट्राफिक व्यवस्थापनको कमाण्ड पनि एसपीले नै गर्ने गरी सुरक्षा योजना लागु गरेका छौँ ।’

ट्राफिक व्यवस्थापनमा ८ सय ९० प्रहरी परिचालन गर्ने निर्णय गरिएको छ । काठमाडौँ प्रहरीले महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रको गतिविधि लाइभ गर्ने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहरा भन्छन्, ‘पशुपतिनाथ क्षेत्रको गतिविधि हाम्रो कार्यालयको फेसबुक पेजबाट लाइभ गर्नेछौँ ।’

सशस्त्र र राअबिका सुरक्षाकर्मी पनि खटिने

महाशिवरात्रिमा हुनसक्ने सुरक्षा चुनौतीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई पनि परिचालन गर्ने निर्णय गरिएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी बलका १ हजार २ सय जना सुरक्षाकर्मी खटिने भएका छन् । राष्ट्रिय अनुसन्धान विभागका १५० जना सुरक्षाकर्मी सूचना संकलनका लागी परिचालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँ स्रोतले जानकारी दिएको छ ।