मंगलबार १३ फागुन, २०८१

जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

जलेश्वरनाथ मन्दिरमा महाशिवरात्रिको भव्य तयारी

जलेश्वर, १३ फागुन । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ । नेपालीहरुको आराध्यदेव महादेवले स्वयं गर्नुभएको यस महालिङ्गको पूजाअर्चना र दर्शनका लागि यस महाशिवरात्रिमा विशेष तयारी भइरहेको महाशिवरात्रि समितिका पूजा समारोह समितिका अध्यक्ष जितेन्द्र साहले बताए ।

जमिनको सतहदेखि १६ सिँढी (भर्‍याङ) मुनि २४ घण्टा जलभित्र बिराजमान रहने बाबा जलेश्वरनाथ महादेवको पूजाअर्चना र दर्शनको लागि पूजा समितिले विशेष व्यवस्था मिलाएको छ । मन्दिरको प्राङ्गणमा रहेको महादेव, पार्वती, गणेश, हनुमानसहित अन्य  सम्पूर्ण देवीदेवताको मन्दिर र सबै देवीदेवतालाई यसपटक विभिन्न रङले रङ्गरोगन गरिएको छभने चारैतिर रङ्गीचङ्गी तोरन र सजावटका सरसामानहरु लगाइएको छ । साथै, मन्दिरभरि विभिन्न आकर्षक बिजुलीबत्ती जडान गरिएको छ । बाबा जलेश्वरनाथ मन्दिरलाई दुलही झैँ सिङ्गार्ने काम तीव्र गतिमा भइरहेको छ ।

बाबाका मुख्य पुजारी उपेन्द्र पाठकका अनुसार जलेश्वरनाथ महादेव साक्षात महादेव हो । यहाँ चोखो मन, वचन र कर्मले आउने भक्तजनले बाबालाई मनको दृष्टिले प्रत्यक्ष दर्शन गर्न सक्छन् । महाशिवरात्रि मेलामा चौबिसै घण्टा जलेश्वरनाथ महादेव मन्दिरमै बिराजमान रहन्छन् । बाबा जलेश्वरनाथको दर्शन एवं पूजा अर्चनाका लागि यस दिनमा राति १२ बजेपछि नै विशेष पूजा गरेर सर्वसाधारणका लागि पनि मन्दिर खुल्ला गरिन्छ ।

बर्सेनि टाठाबाठाबाट आउने भक्तजनलाई यस मन्दिरमा भगवान् शिवको शिवलिङ्ग दर्शन र पूजाआजाका लागि विशेष दिनको प्रतीक्षा गर्नुपर्छ । यस मन्दिरभित्र करिब २० फिटमुनि जलमा बास बसेका महादेवको दर्शन र पूजाआजा मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गरेका कारण भक्तजनको दर्शन पूजालाई मध्यनजर गर्दै यसपटक विभिन्न व्यवस्थाहरु गरिएको छ  । मन्दिर तथा मन्दिरको ५०० मिटर टाढासम्म शिवभक्तिका गीतसङ्गीतले जलेश्वर गुञ्जायमान बनाइएको छ ।

बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात् शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको वर्तमान पुजारी कामेश्वर पाठक बताउँछन् । यस मन्दिरमा महाशिवरात्रि र साउन महिनाको प्रत्येक सोमबार (साउनी मेलाभरि) र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गरेको स्थानीय बासिन्दा रञ्जीत चौधरी बताउँछन् ।

परापूर्वकालदेखि नै यस मन्दिरको पानी फ्याँकेर मात्रै शिवलिङ्गको दर्शन र पूजाअर्चना गराउने चलन रहेको छ । यसभित्रको पानी मोटर लगाएर पनि बाहिर फ्याँक्न सक्दैनन् । मानिसले बाल्टिनको प्रयोग गरी पानी फाल्न कोसिस गरे पनि एकै छिनमा पुनः भरिने गर्दछ । त्यसैले पटकपटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिन्छ । यस पटक पनि महाशिवरात्रिमा भक्तजनलाई सहज तरिकाले दर्शन पूजा गराउनका लागि जिल्लामा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाहरुलाई परिचालन गरिएको अध्यक्ष साहले बताए ।

यस जलेश्वरनाथ महादेवको ख्याति महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सिन्धुलीजस्ता छिमेकी जिल्लासहित भारतको पटना, दरभङ्गा, मुजफ्फरपुर, सीतामढी, मधुवनीलगायत सहरमा पनि रहेको छ । ती स्थानहरुबाट महाशिवरात्रिको दिन बाबा जलेश्वरनाथ महादेवको दर्शन तथा पूजाआजाका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने गर्दछन् । यस वर्ष यस महाशिवरात्रिका अवसरमा बाबा जलेश्वरनाथ महालिङ्गको दर्शन एवं पूजाअर्चना दुई लाख बढी भक्तजनले गर्ने अनुमान रहेको जलेश्वरनाथ महादेव महाशिवरात्रि महोत्सवका अध्यक्ष साहले बताए ।

जिल्लाकै सोनमा गाउँपालिका–७ मा अवस्थित बाबा मङ्गलनाथ, बर्दिबास नगरपालिका–५ मा अवस्थित बाबा टुटेश्वरनाथ र भङ्गहा नगरपालिका–५ मा अवस्थित बाबा सिद्धेश्वरनाथ महादेव मन्दिरमा पनि महाशिवरात्रि पूजाका लागि भव्य तयारी गरिएको छ । जिल्लाकोे चार कुनामा रहेका चारवटै महादेव पूर्व दक्षिण कुनामा जलेश्वरनाथ, पश्चिम दक्षिण कुनामा मङ्गलनाथ, उत्तर पश्चिम कुनामा टुटेश्वरनाथ र उत्तरपूर्व कुनामा सिद्धेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिमा भव्य रुपमा पूजा हुने गर्दछ ।