मंगलबार १३ फागुन, २०८१

८७ यात्रुसहित काठमाडौं आइपुग्यो साउदीमा थन्किएको निगमको जहाज

८७ यात्रुसहित काठमाडौं आइपुग्यो साउदीमा थन्किएको निगमको जहाज

काठमाडौं, १३ फागुन ।  साउदी अरबको दम्माममा प्राविधिक समस्याका कारण ‘ग्राउन्डेड’ भएको नेपाल वायुसेवा निगमको ‘न्यारो बडी’ जहाज काठमाडौं अवतरण भएको छ ।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित ‘ए३२०–२००’ सिरिजको ‘९एन–एकेएक्स’ दर्ता नम्बरको निगमको उक्त जहाज आज मंगलबार बिहान १०ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।मर्मतपछि एकेएक्स जहाजले ८७ यात्रु लिएर काठमाडौं आएको हो ।

उक्त जहाज आजै बेलुका मलेसियाको क्वालालम्पुर जाने तालिका छ । यो जहाज गत शनिबार साउदीको दम्माम गएको थियो । भोलिपल्ट आइतबार काठमाडौं फर्कनुअघि प्राविधि जाँच हुँदा ‘नोज ल्यान्डिङ गियर’ मा समस्या देखिएपछि ग्राउन्डेड गरिएको थियो । आवश्यक मर्मतपछि जहाज आज काठमाडौं फर्किएको हो ।