पूर्वराजा शाहले प्रजातन्त्रप्रति विषवमन गरेः सांसद गैरे

काठमाडौं, १३ फागुन । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोसिस गरेको आरोप लगाएका छन् । मंगलबार (फागुन १३) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले सहिदको अपमान गरेको बताए । पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको उनले जिकिर गरे ।
“फागुन ७ गते पूर्वराजाले नेपालका सहिदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने सहिदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोसिस गरे,” उनले भने ।
उनले शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको टिप्पणी गरे । “...ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोसिस गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोसिस गरे,” उनले भने, “निरंकुशता लाद्ने र दलहरूलाई बन्देज लाउने कोसिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।”
उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरे ।