कोठामा अचेत भेटिएका मन्त्रीका स्वकीय सचिव थापाको मृत्यु

काठमाडौं, १३ फागुन । साथीको कोठामा अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको उपचारको क्रममा मृत्यु भएको छ ।
कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा उनको सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङको धुनीबेसी नगरपालिका–९ घर भएका ३६ वर्षीय थापा कलंकीस्थित साथीको कोठामा अचेत फेला परेका थिए। धादिङको धुनीबेसी नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१४ लिगमार्गस्थित कलंकीमा कोठा लिएर बसेका शिव कुँवरको कोठामा उनी अचेत भेटिएका हुन् ।
उनलाई उपचारका लागि सहिद मेमोरियल अस्पताल लगिएको थियो । उपचारको क्रममा अस्पतालमै उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । थापाको साथबाट एक पेजको पत्र समेत बरामद भएको बोहराको भनाइ छ । सो पत्रमा सहकारीको पैसा लेनदेनको विषयमा आफूलाई जोडिएको र त्यसले आफ्नो बेइज्जत भएको उल्लेख रहेको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ