प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न, फागुन १५ ‘राष्ट्रिय बाँस जागरण दिवस’ घोषित

काठमाडौं, १८ फागुन । पहिलो राष्ट्रिय बाँस सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा फागुन १५-१७ सम्म चलेको तीन दिने सम्मेलनले बाँसको सम्भावना उजागर गर्न महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
सम्मेलनले जारी गरेको ‘खोटाङ घोषणापत्र’ अनुसार, नेपालमा हरेक वर्ष फागुन १५ लाई ‘राष्ट्रिय बाँस जागरण दिवस’का रूपमा मनाउने निर्णय भएको छ। त्यस्तै, बाँसको अनुसन्धान तथा प्रवर्द्धनका लागि दिक्तेलमा ‘बाँस अध्ययन तथा अनुसन्धान केन्द्र’ स्थापना गर्ने र प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ।
बाँसको दिगो उपयोगिता, व्यवसायिक खेती, उद्यम प्रवर्द्धन, बजारीकरण र वातावरणीय लाभलाई समेट्दै ३५ बुँदे घोषणापत्र जारी गरिएको छ। सम्मेलन अवधिभर ४४ जना विज्ञ तथा अध्येताहरूले २३ कार्यपत्र प्रस्तुत गरेका थिए।
नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार, बाँस खेती विस्तार, बाँसका विविध प्रजातिको व्यावसायिक उत्पादन, नदी किनार, बाँझो जमिन र सामुदायिक वनमा बाँस रोपण प्रवर्द्धन गर्ने निर्णय गरिएको छ। साथै, स्थानीय मौलिक कला-संस्कृति संरक्षण गर्दै बाँस उद्योगलाई आधुनिक बनाउन रणनीतिक नमूना विकास गर्ने योजना रहेको छ।
सम्मेलनको अवसरमा बाँस सामग्रीको प्रवर्द्धनका लागि ५१ वटा प्रदर्शनी कक्ष स्थापना गरिएको थियो। उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, सङ्घीय सांसद, प्रदेश सरकारका मन्त्रीहरू, गभर्नर, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
नगरपालिकाले सम्मेलनका लागि पाँच लाख बजेट व्यवस्थापन गरेको थियो भने कुल ४७ लाख रुपैयाँ खर्च भएको जनाइएको छ। तीनै तहका सरकारको संयुक्त आयोजनामा सम्पन्न सम्मेलनले स्थानीय बाँस उद्यमी तथा व्यवसायीहरूलाई उत्साहित बनाएको छ।