राष्ट्रिय सभा बैठकको कार्यसूचीमा परेन अध्यादेश

काठमाडौं, १८ फागुन । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । मध्याह्न सवा १२ बजे बस्ने बैठकमा विभिन्न विधेयक अगाडि बढाउने कार्यसूची छ । तर, अध्यादेश कार्यसूचीमा परेको छैन ।
सम्भावित कार्यसूची अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि आजै प्रस्तुत हुनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
आजै भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले विधायन सम्बन्धी विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनलाई सहमति गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।