नेप्से सीईओका लागि आवेदन दिने समय थपियो

काठमाडौं, १८ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आवेदन दिने म्याद ७ दिन थपिएको छ । नेप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आइतबा एक सूचना जारी गर्दै आवेदन दिने म्याद थप गरेकाे हो ।
याेसँगै अब इच्छुक उम्मेदवारले फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि सिफारिस समितिले गत फागुन १२ गते सूचना जारी गर्दै फागुन १८ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो । नेप्सेका सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल माघ २५ गतेबाट सकिएको थियो । हाल नेप्सेको कामु सीईओ जिम्मेवारी प्रबन्धकमा निरञ्जन फुयाँल छन् ।
नेप्सेको रिक्त सीईओ पदमा खुला प्रतिष्पर्धाबाट नियुक्ति गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयले ३ सदस्यीय समिति गठन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णयअनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेका समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा।खोमराज खरेल छन् ।
समितिले प्राप्त दरखास्तको मूल्यांकन गरी ५ जनाको नाम सर्टलिस्ट गर्नेछ । त्यसपछि कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि तीमध्ये ३ जनाको नाम मन्त्रिपरिसदमा सिफारिस गर्नेछ । तिनै ३ जनामध्ये १ जनालाई मन्त्रिपरिषदले नेप्सेको सीईओमा नियुक्त गर्नेछ ।