अझै खुलेन हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक
_nYeLVVMAbL_hlqmv5pndjeyttnsnhojcxjcycpfrezackk272cttkisjxbrux4xfiele6g9_T4X0ljIAnR_wexzggg4te2kcwkdeaozqcnx4bwchzghnyqq3yk4lljyqvmekvapjx8cr3is.jpg)
काठमाडौं, १८ फागुन । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म-गमगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरेपछि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ ।
सडकमा बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए ।
कर्णाली राजमार्गको जिया-बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गर्नुभएका कार्की जानकारी दिए ।
सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ । आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए ।
जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ ।
हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराए ।