जीवन विकास लघुवित्तको वार्षिकोत्सवमा १६१ स्थानमा सामाजिक काम

काठमाडौं, १८ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिकोत्सव विविध सामाजिक कार्यक्रमका साथ मनाएको छ। संस्थाले शुक्रवार, १६१ स्थानमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले ३१ जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएका छन्, र यस अवसरमा विभिन्न सामाजिक कार्य गरेको छ।संस्थाका २५ वटा शाखाले विपन्न परिवारका लागि घर निर्माण र मर्मत, ६० वटा शाखाले बजार सरसफाइ कार्यक्रम, र ७२ वटा शाखाले वृक्षारोपण कार्यक्रम सञ्चालन गरेका छन्। साथै, केही स्थानमा रक्तदान, शौचालय निर्माण र पार्क तथा मस्जिद सरसफाइ कार्यक्रम पनि गरिएको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले, संस्थाले आफ्नो वार्षिकोत्सव सामाजिक कार्यको माध्यमबाट मनाउने परम्परा राखेको बताए। मण्डलका अनुसार, जीवन विकासको शुरुवात नै सामाजिक क्षेत्रबाट भएको थियो र यसलाई ध्यानमा राखेर वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्यहरूको आयोजना गरिएको हो।
जीवन विकासको अमाही शाखाले वृक्षारोपण कार्यक्रम आयोजना गरेको थियो, जसमा प्रमुख कार्यकारी अधिकृत मण्डल स्वयं सहभागी भएका थिए। उल्लेखनीय छ कि अमाही शाखाबाटै जीवन विकास समाजको सुरुवात भएको थियो र त्यसपछि, २०७५ सालको फागुन महिनामा जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबार सुरु भएको थियो।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले कोशी प्रदेश, मधेश र बागमती प्रदेशका ३१ जिल्लामा १६० वटा शाखा मार्फत ३ लाख ५० हजार विपन्न परिवारलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ।
संस्थाले करिब २ लाख सदस्यलाई ऋण प्रदान गरी आर्थिक प्रगति गर्दै आएको छ। २७ अर्ब भन्दा बढी ऋण कारोबार र ११ अर्ब भन्दा बढी बचत परिचालन गरेको जीवन विकासले स्थानीय स्तरमा ठूलो प्रभाव पारिरहेको छ।