सोमबार १९ फागुन, २०८१

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता: नेपाल पुलिस क्लब टिम च्याम्पियन

कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता: नेपाल पुलिस क्लब टिम च्याम्पियन

काठमाडौं, १९ फागुन । चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पुलिस क्लब टिम च्याम्पियन बनेको छ । १२ स्वर्ण र १ रजतसहित पुलिस टिम च्याम्पियन बन्दै १ लाख प्राप्त गर्न सफल भयो ।

दोस्रो भएको एपीएफले ३ स्वर्ण २ रजत र ६ कास्यसहित कुल १० पदक जित्यो । एपीएफले ५० हजार हात पार्‍यो । त्रिभुवन आर्मी क्लब तेस्रो भयो । उसले २ स्वर्ण ३ रजत र ५ कास्य गरी १० पदक प्राप्त गर्‍यो । उसलाई २५ हजार प्रदान गरियो ।‌

प्रतियोगितामा पुरूषतर्फ एपीएफका मोहम्मद शेखु आलम र माहिलातर्फ पुलिसकी वर्षा बुढा मगर उत्कृष्ट खेलाडी चुनिए । दुवैले जनही २५ हजार रुपैयाँ पाएका छन् ।

प्रतियोगितामा बागमती प्रदेशका सलमान मोहम्मद पुरुषतर्फ र महिलातर्फ कर्णालीकी प्रियंका शाही उदयीमान खेलाडी बने ।‌ उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरको खेल सामाग्री प्रदान गरिएको छ । बागमती प्रदेश अनुशासित टिम बन्यो ।

प्रतियोगिताको अन्तिम दिन आइतबार महिला ६८ केजीमाथिको तौल समूहमा एसियन गेम्सकी ऐतिहासिक रजत विजेता नेपाल प्रहरीकी एरिका गुरूङले स्वर्ण पदक जितिन् । उनले फाइनलमा बागमतीकी महिमा राईलाई ८-० को फराकिलो अन्तरले पराजित गरिन् । गण्डकीकी सुनिता थापाले कास्य हात पारिन् ।

६८ केजीमुनि पुलिसकी रोजिता ढुङ्गेल पहिलो भइन्। उनले प्रतिस्पर्धात्मक फाइनलमा आर्मीकी सानु तामाङलाई ४-३ को स्कोरमा पाखा लगाइन् । एपीएफकी विनिता श्रेष्ठ र कोशी प्रदेशकी प्रकृति दुम्जनले कास्य पदक प्राप्त गरे।

महिला ५० केजीतर्फ आर्मीकी प्रियंका शाहीले गण्डकी प्रदेशकी प्रिति तामाङलाई १२-२ को सहज स्कोरले पराजित गर्दै स्वर्ण पदक हात पारिन् । एपीएफकी दीपा लामा र कर्णाली प्रदेशकी ममता नेपाली तेस्रो भए ।

पुरूष ६० केजीमा एपीएफका मीनबहादुर तामाङले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका राकेश लामालाई ९-१ को स्कोरमा माथ दिए । बागमतीका लिजन साउद र गण्डकी प्रदेशका सुनुल गुरूङ तेस्रो भए ।

८४ केजीमाथिको स्पर्धामा एपीएफका तेन्जिङ शेर्पाले पुलिसका आशिष श्रेष्ठलाई ९-० ले पराजित गर्दै स्वर्ण जिते । गण्डकी प्रदेशका प्रविण कुँवर र आर्मीका संगम भुजेलले कास्य पदक  प्राप्त गरे ।

प्रतियोगितामा सात  प्रदेश र ३ विभागीय (सेना, प्रहरी, एपीएफ) गरी २ सय १० खेलाडीको सहभागिता थियो । नेपाल कराँते महासंघको ललितपुर जिल्ला मेन डोजोद्वारा आयोजित प्रतियोगितामा कुल १७ स्पर्धामा खेलाडीहरूले भाग लिएका थिए ।

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्मे खेलाडी सिधै राष्ट्रिय कराँते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने छन् ।