सेयर बजारमा करेक्सन, २९ सय नाघेर झर्यो नेप्से

काठमाडौं, १९ फागुन । साताको दोस्रो कारोबारको दिन अर्थात सोमबार सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । नेप्से यस दिन परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा झरेको छ ।
बजार घट्दा कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन १४ अर्ब २५ करोडको कारोबार भएकोमा आज १४ अर्ब २८ करोडको भयो । सोमबार ३०० कम्पनीको ३ करोड १२ लाख कित्ता सेयर किनबेच भयो ।
आज ५१ कम्पनीको मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ । साथै, नेपाल रिइन्स्योरेन्स कम्पनीको ७३ करोड, हिमालयन डिस्टीलरीको ३६ करोड, हाइड्रो इलेक्ट्रीसीटी इन्भेस्टमेन्टको ३४ करोड र सिन्धु विकास बैंकको २७ करोड रुपैयाँको कारोबार भएको छ ।
आज गार्डियन माइक्रो लाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । दिव्यश्वरी हाइड्रोपावरको ९.४५, सिन्धु विकास बैंकको ७.८५, हिमालयन रिइन्स्योरेन्सको ७.२५, नेसनल लाइफ इन्स्योरेन्सको ६.१७ तथा बोटलर्स नेपाल बालाजुको ५.४६ प्रतिशत मूल्य बढ्यो ।
समाज लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ७.२४, बाराही हाइड्रोपावरको ६.७७, सपोर्ट माइक्रोफाइनान्सको ६.६० र भूगोल इनर्जीको ६.४२ प्रतिशत मूल्य घट्यो ।