सोमबार १९ फागुन, २०८१

लुम्बिनी बौद्ध विश्वविद्यालयको अमेरिकामा अध्ययन केन्द्र

लुम्बिनी बौद्ध विश्वविद्यालयको अमेरिकामा अध्ययन केन्द्र

रुपन्देही, १९ फागुन ।  लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

बौद्ध अध्ययन संकाय अन्तर्गत स्नातकोत्तर तह र छोटो अवधिका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्न लागेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले सोमबार लुम्बिनीमा आयोजित एक कार्यक्रमकाबीच क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेका हुन् ।

क्यालिफोर्नियाबाट बौद्ध अध्ययनका लागि आएका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदानका लागि आयोजित कार्यक्रममा उहाँले केही सातामै भर्ना प्रक्रिया शुरु गर्ने बताए ।

विश्वविद्यालयले क्यालिफोर्नियामा बौद्ध अध्ययनका शैक्षिक कार्यक्रम सञ्चालनका लागि इन्लाइट इन्टरनेशनल जेन मेडिटेसन सेन्टरसँग सहकार्य सम्झौता गरेको छ । सोही सेन्टरबाट छोटो अवधिको शैक्षिक कार्यक्रमका लागि २५ जना विद्यार्थी लुम्बिनी आएका हुन् । उनीहरुले दुई क्रेडिटको कक्षा लिएका छन् ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि ४० भन्दा बढी संस्थाहरुसँग सहकार्य सम्झौता गरी अघि बढिएको बताए ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको घोषणा अनुसार स्थापित भएको विश्वविद्यालयले बौद्ध शिक्षालाई विश्वभर फैलाउनका लागि अध्ययन केन्द्रहरु स्थापना गर्दै जाने उनले बताए ।

बौद्ध अध्ययन संकायका डिन डा. माणिकरत्न शाक्यले छोटो अवधिको शैक्षिक कार्यक्रममा विदेशी विद्यार्थीहरुको आकर्षण बढ्दै गएको जनाए ।

अमेरिकाका विद्यार्थीहरुले बौद्ध अध्ययनका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय रोजेको भन्दै उनले धन्यवाद दिए । यसअघि चिनियाँ विद्यार्थीको टोलीले छोटो अवधिको बौद्ध अध्ययन गरेको थियो ।

इन्टरनेशनल जेन मेडिटेसन सेन्टर क्यालिफोर्नियाकी प्रमुख भिक्षुणी ज्यु नेले लुम्बिनी बौद्ध विश्वविद्यालयसंग सहकार्य गर्न पाउदा आफूहरु उत्साहित भएको बताए । बौद्ध शिक्षाको विकासका लागि आफूहरुले सहकार्यमा काम गर्दै जाने उनको भनाइ थियो ।

शैक्षिक कार्यक्रम सञ्चालनमा सहजीकरण गरेका विश्वविद्यालयका सहप्राध्यापक डा. सागर न्यौपानेले छोटो अवधिमा विदेशी विद्यार्थीहरुको आकर्षण देखिएको बताए । बुद्ध जन्मस्थल लुम्बिनीमा घुम्न आउने अध्येताहरुले छोटो अवधिको शैक्षिक कार्यक्रम लिनसक्ने भएकाले यसले फाइदा हुने उनको भनाइ छ ।

विश्वविद्यालयले बौद्ध अध्ययन संकाय अन्तर्गत विभिन्न छोटो अवधिका शैक्षिक कार्यक्रमहरु घोषणा गरेको छ । तीन दिनदेखि १५ दिनसम्मका शैक्षिक कार्यक्रमहरु प्राज्ञिक परिषद्बाट स्वीकृत गरी लागू गरिएको डिन शाक्यले बताए ।

व्यक्तिगत तथा समूहगत रुपमा छोटो अवधिको बौद्ध अध्ययन गर्न सकिने उनले जनाए । बौद्ध अध्ययन, लुम्बिनीको चिनारी, विपश्यना ध्यानसहितको पाठ्यक्रम डिजाइन गरिएको छ ।