सरकार भूमि अध्यादेश रोक्न सहमत, पाँच अध्यादेश प्रतिनिधिसभामा स्वीकृतिका लागि पेस हुने

काठमाडौं, २० फागुन । सरकारले भूमिसम्बन्धी बाहेक पाँच अध्यादेश बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने भएको छ। सत्ता साझेदार दलहरूबीच भएको समझदारीबाट पाँच अध्यादेशहरू स्वीकृतिका लागि प्रतिनिधिसभामा पेस गर्ने भएको हो।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
उनले भने, भूमिबाहेक बाँकी पाँच अध्यादेश बुधबार प्रतिनिधिसभा बैठकमा स्वीकृतिका लागि प्रस्तुत गर्छौं। सत्ता साझेदार दलहरूबीच यही समझदारी भएको छ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसहितको सहमतिमा अध्यादेश प्रस्तुत हुन लागेको हो।'
यस्तै राष्ट्रियसभामा भने फागुन २२ (बिहीबार) गते स्वीकृतिका लागि पेस हुने उनले बताए।
पाँच अध्यादेशअन्तर्गत आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश संसदको बैठकमा निर्णार्थ प्रस्तुत हुने छन्। यी अध्यादेश सरकारले गत पुस २७ गते जारी गरेको थियो।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उपेन्द्र यादवसहित सत्तापक्षको छलफल भएको थियो। अध्यादेशको आयु २७ दिन बाँकी रहेका बेला सरकार भूमिसम्बन्धी अध्यादेश रोक्न सहमत भएको मान्न सकिन्छ। संसद अधिवेशन सुरु भएको ६० दिनभित्र अध्यादेश संसदबाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ।