नारायणकाजीको प्रश्न– पानी जहाज चढ्ने टिकटको वैधानिकता सकियो ?

काठमाडौं, २० फागुन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सञ्चालनमा रहेका पानी जहाजबारे जिज्ञासा राखेका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बोल्दै उनले यो विषयमा पानी जहाज कार्यालयका अधिकारीहरूसँग जवाफ माग गरेका हुन् ।
समितिमा पानी जहाज एन संसोधन विधेयकमाथि छलफल चलिरहेको छ ।
छलफलमा भाग लिँदै उनले प्रश्न गरे, ‘मनोरञ्जनको रुपमा, पर्यटनको रुपमा अर्का कुरा । यातायातकै रुपमा कति जहाज नेपालमा चल्छन् ?’
छलफलका क्रममा राष्ट्रिय सभा सदस्य समेत रहेका माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले विगतमा प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजबारे चर्चा गर्दै ‘टिकट काट्न’ भनेको स्मरण गरे ।
‘संविधान जारी भएपछि नै तत्कालीन प्रधानमन्त्रीले पानी जहाजको टिकट काट्ने भन्नुभएको थियो । त्यो बेला काटेको टिकटको भ्यालिडिटी (वैधानिकता) बाँकी छ कि छैन ?,’ श्रेष्ठले प्रश्न गरे ।
१४ असार २०७५ मा प्रधानमन्त्री ओलीले २०७५ कै पुस १६ गते पानीजहाजको टिकट काट्न सप्तरीको हनुमाननगर पुग्न भनेका थिए । तर त्यसबेलै ओलीको यस्तो अभिव्यक्तिको आलोचना भएको थियो ।
त्यसबेला नेपालमा पानी जहाज कार्यालय समेत थिएन । पछिल्लो समय पानी जहाज कार्यलय भने स्थापना भएको छ । सरकारले पानी जहाज संचालन सम्बन्धी एन पनि संसोधन गर्न लागेको छ ।
यो विधेयक भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले १ पुस २०८१ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । २४ माघ २०८१ मा सभामा प्रस्तुत भएको थियो । २७ माघमा सामान्य छलफल भएको थियो ।
त्यसपछि यो विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा आएको हो ।