थप दश निर्माण कम्पनी कालोसूचीमा, कुन-कुन परे ?

काठमाडौं, २८ फागुन । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १० निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले आज सार्वजनिक सूचना जारी गर्दै दुई कम्पनीलाई डेढ वर्ष र अरुलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको जनाएको छ ।
गणेश तङनामी मुख्य व्यक्ति भएको तारालक्ष्मी निर्माण सेवा गुल्मी र अनिल बस्नेत मुख्य व्यक्ति भएको ममता मञ्जु कन्स्ट्रक्सन प्रालि काठमाडौँ डेढ वर्षका लागि कालोसूचीमा परेका छन् ।
यसैगरी सुवोध खतिवडा मुख्य व्यक्ति भएको सनम निर्माण सेवा संखुवासभा, कमल सापकोटा मुख्य व्यक्ति भएको निर्जरा निर्माण सेवा एक वर्ष कालोसूचीमा परेका छन् ।
अशोक गैरे नेतृवको इन्द्रेणी बिल्डर्स एण्ड सप्लायर्स प्रालि काठमाडौँ पनि एक वर्षका लागि कालोसूचीमा परेको छ ।
त्यस्तै, जी.एस. निर्माण संसार कम्पनी, कमन कन्स्ट्रक्सन, भिमबहादुर सावद नेतृत्वको राजेन्द्र निर्माण सेवा, रविन कुमार जोशी नेतृत्वको रफिना एण्ड कन्स्ट्रक्सन र सुरेश कुमार सिलवाल नेतृत्वको राम निर्माण कन्स्ट्रक्सन पनि एक वर्षका लागि कालोसूचीमा परेका छन् ।
जिम्मा लिएको काम सन्तोषजनक नभएको सिफारिसपछि ति कम्पनीहरुलाई कालोसूचीमा राखेको अनुगमन कार्यालयले जनाएको छ ।