केन्द्रीय क्याम्पस त्रिविमा नेविसंघका ६ जना बागी उम्मेदवार

काठमाडौं, २८ फागुन । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा असन्तुष्टी जनाउँदै केन्द्रीय क्याम्पस कीर्तिपुरमा ६ जनाले नेविसंघबाट बागी उम्मेदवारी दिएका छन् । अनोज कार्की, पद्मा भुसाल, नरेन्द्र साउद, पदम दाहाल, सनम ओली, अक्कल रानाभाटले असन्तुष्टी जनाउँदै बागी उम्मेदवारी दिएका हुन् ।
त्रिविमा उम्मेदवार बनाउँदा त्रिवि इकाई र केन्द्रबीच फाटो परेको छ । नेविसंघका त्रिवि इकाई सभापति विष्णु बडैलाले अनोज कार्कीलाई अध्यक्ष उम्मेदवार हुनेगरी निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएको थिए । त्रिवि स्ववियुका उपसभापति कार्कीले नेविसंघको तर्फबाट उम्मेदवारी दर्ता गरिसकेपछि केन्द्रले दीपकराज जोशीलाई उम्मेदवार बनायो ।
त्रिवि निर्वाचन समितिले कार्की र जोशीको आधिकारिकता खोज्यो । जोशी संघको तर्फबाट आधिकारिक उम्मदेवार भएको निर्वाचन समितिलाई केन्द्रले जानकारी गराएको थियो ।
जोशीलाई उम्मेदवार बनाएपछि संघको त्रिवि कार्यसमिति त्यसविरुद्ध उत्रिएको छ । निर्वाचन समितिले निर्धारित समय भन्दा पछि जोशीको उम्मेदवारी मनोनयन गरेको भन्दै त्रिविको नेविसंघ तालाबन्दी सुरु गरेको छ ।
स्ववियु केन्द्रीय परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा र संघको निर्देशक समिती संयोजकबाट निर्देशन बमोजिम कार्कीलाई उम्मेदवार बनाइएको बडैलाको दाबी छ । निर्धारित समय ५ भन्दा पछि जोशीको उम्मेदवारी दर्ता गरिएकाले तालाबन्दी गर्नुपरेको बडैलाले विज्ञप्तिमा उल्लेख छ ।