बुधबार २८ फागुन, २०८१

अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत

अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत

काठमाडौं, २८ फागुन । प्रतिनिधिसभामा अध्यादेश प्रतिस्थापन विधेयकका विरोधका सबै सूचना अस्वीकृत भएको छ । बुधबार प्रतिनिधिसभामा विभिन्न पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत भएका छन् । विधेयक प्रस्तुत हुनु अगाडि परेका विरोधका सूचना निर्णयार्थ प्रस्तुत गरिएको थियो । जसलाई सभाले बहुमतले अस्वीकृत गरिदिएको हो ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसदहरू प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल र हितराज पाण्डेले विरोधको सूचना दर्ता गरेका थिए ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, प्रकाश ज्वाला र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए ।

निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, मेटमणि चौधरी, प्रेम सुवाल, छिरिङ ल्हामु लामा (तामाङ) माधव सापकोटाले विरोधको सूचना दिएका थिए । आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, शेरबहादुर कुँवर, प्रेम सुवाल र रणेन्द्र बरालीले विरोधको सूचना दिएका थिए ।

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रभु साह, राजेन्द्रप्रसाद पाण्डे, प्रेम सुवाल र मिना तामाङले विरोधको सूचना दर्ता गरेका थिए । सबै विरोधको सूचना अस्वीकृत भएपछि सम्बन्धित मन्त्रीले विधेयक सभामा प्रस्तुत गरेका हुन् ।