वुमन्स डे कप : अन्तिम खेलमा नेपालले हङकङलाई हरायो

काठमाडौं, १ चैत । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको हो । हङकङले दिएको १०५ रनको लक्ष्य नेपालले ३ बल बाँकी छँदा ४ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाइन् । पुजा महतो २० रनमा अविजित रहँदा इन्दु बर्माले १८ रन बनाइन् । हङकङका मेहक दिप र लाइ विनले १–१ विकेट लिए ।
त्यसअघि एन्टेबे मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो । कुनै समय १३० रनको हाराहारीमा योगफल पुग्ने देखिएपनि अन्तिम ४ ओभरमा हङकङले ८ रन मात्र जोड्यो । हङकङका लागि शान्जिन शाहजादले अर्धशतकीय पारी खेलिन् । प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गर्ने क्रममा उनले ४७ बलमा ५४ रन बनाइन् । त्यस्तै चान का यिङले १६ तथा यास्मिन दस्वानीले १४ रन बनाइन् ।
नेपालका लागि राजमती ऐरीले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिइन् । कप्तान इन्दु बर्माले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । पुजा महतो र ईश्वरी विष्टले १–१ विकेट लिए । समूह चरणका ६ मध्ये चार खेलमा पराजित भएको नेपालका लागि शीर्ष २ मा परेर फाइनल खेल्ने सम्भावना सकिइसकेको छ । नेपाल समूहमा चौथो हुने पनि निश्चित भइसकेको छ ।
नेपालको ६ खेलमा ४ अंक मात्र छ भने युगाण्डा, नामिबिया र हङकङको समान ६ अंक छ । आजको दोस्रो खेलपछि फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ । शीर्ष २ टोलीले फाइनल खेल्दा समूहमा तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा युगाण्डालाई हराउँदा तेस्रो खेलमा हङकङ र चौथो खेलमा नामिबियासँग पराजित भएको थियो ।