आइतबार ०३ चैत, २०८१

वीरगञ्जमा बढ्यो लामखुट्टेको आतङ्क

वीरगञ्जमा बढ्यो लामखुट्टेको आतङ्क

पर्सा, ३ चैत । औद्योगिक तथा व्यापारिक नगरीको रूपमा परिचित वीरगञ्जमा केही सातादेखि लामखुट्टेको आतङ्कले सर्वसाधारण जनता आजित भएका छन् । वीरगञ्ज महानगर क्षेत्रमा गर्मीको सुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले यहाँका सर्वसाधारण बिहान र साँझको समयमा निकै सास्ती पाउँदै आइरहेका छन् । 

होलीको समयमा सरसफाइका कर्मचारी बिदामा भएकाले पनि महानगरको भित्री सडकमा फोहरमैला उठ्न सकेको थिएन । त्यहीे कारणले पनि लामखुट्टेको प्रभाव झनै बढेको हो । जाडो मौसमको अन्त्य र गर्मी मौसमको सुरूआती भएकाले पनि लामखुट्टेको प्रभाव झनै देखिएको हो । 

वीरगञ्ज महानगर वडा नं ६ मिनाबजारमा व्यापार गर्दै आइरहेका परशुराम तेली पनि अत्यधिक मात्रामा वीरगञ्जमा लामखुट्टे देखिए पनि वीरगञ्ज महानगरले लामखुट्टेको स्प्रे छर्किनलाई बेवास्ता गरेको बताए। डेङ्गीको विषाणुद्वारा सङ्क्रमित भएको पोथी लामखुट्टेले यो रोग सार्दछ । रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमाभन्दा सहरी क्षेत्रमा बढी पाइने गरेको छ ।

वीरगञ्ज महानगरका सरसफाइ व्यवस्थापन शाखा प्रमुख सर्फुदिन मियाँले आइतबारदेखि वीरगञ्जका वडामा लामखुट्टे मार्नका लागि ३२ वटै वडामा कार्यतालिका बनाएर लामखुट्टे मार्ने अभियान सुरू गर्न लागेको जानकारी दिए ।