आइतबार ०३ चैत, २०८१

पूर्वविशिष्टको सेवा सुविधाबारे सांसदले मागे सरकारको जवाफ, सांसदको समेत सुविधा घटाउन प्रस्ताव

पूर्वविशिष्टको सेवा सुविधाबारे सांसदले मागे सरकारको जवाफ, सांसदको समेत सुविधा घटाउन प्रस्ताव

काठमाडौं, ३ चैत । सांसदहरुले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागिएको भन्दै विरोध गरेका छन् । देशको अर्थतन्त्र सुदृढ नभएको र जनताले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरुलाई सुविधा थप्नु गलत हुने उनीहरुको भनाइ छ । आज प्रतिनिधि सभाको बैठकमा सांसदहरुले यसबारे सरकारको जवाफसमेत मागेका छन् । कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानुन बनाउन लागेको भन्ने समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताए । ‘

पूर्वविशिष्टलाई सेवा सुविधा दिन लागेको भन्ने समाचार सही गलत के हो ? सभामुखमार्फत् नेपाल सरकारबाट जानकारीका लागि अनुरोध गर्दछु ,’ उनले भने । नेकपा माओवादी केन्द्रका हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि सेवा सुविधा बढाउने कुराको विरोध गरे । सांसद पौडेलले देश ग्रे लिस्टमा परेको ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकांकमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरुको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गरे । त्यसको साटो जनताको पक्षमा प्रभावकारी काम गर्न उनले ध्यानाकर्षण गराए । एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टको सेवासुविधा सम्बन्धी विधेयक नल्याउन चेतावनी दिए । राजनीति सेवा भएको भन्दै उनले यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताए ।

‘पूर्वविशिष्टको सेवा सुविधा बढाउने निर्णय सरकारले फिर्ता लियोस् र यस सम्बन्धी विधेयक नल्यायोस्,’ उनले भने । अहिले वर्तमान पदाधिकारीको सुविधा घटाउने बेला भएको भन्दै उनले सांसदहरुको समेत सुविधा घटाउन प्रस्ताव राखे । सांसद रोशन कार्कीले पनि पूर्वविशिष्टको सेवा सुविधा बढाउन नहुने धारणा राखिन् ।