आइतबार ०३ चैत, २०८१

अन्तरिक्ष केन्द्र पुग्यो सुनिता लिन गएको क्रू-१० टिम

अन्तरिक्ष केन्द्र पुग्यो सुनिता लिन गएको क्रू-१० टिम

काठमाडौंं, ३ चैत ।  अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी विल्मोरलाई पृथ्वीमा फर्काउन नासाको क्रू-१० टिम अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेको छ।

टोलीमा नासाका एनी म्याकक्लेन र निकोल एयर्स, जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सीका ताकुया ओनिशी तथा रसियाको अन्तरिक्ष संस्था रोसकोस्मसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सम्मिलित छन्।

यो टोली सुनिता र बैरी रहेको स्थानमा पुग्नेछ । स्पेसक्राफ्ट ‘क्रू ड्र्यागन’ अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रसँग सम्पर्कमा पुगिसकेको छ ।

यसैबीच, स्पेसएक्सका एलन मस्कले आफ्नो एक्स पोस्टमा लेखेका छन्, ‘स्पेसएक्स ड्र्यागन केही दिनभित्र अन्तरिक्षयात्रीहरूलाई सुरक्षित फर्काउनेछ।’

सुनिता विलियम्स र बैरी विल्मोर करिब नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अड्किएका छन्। उनीहरूले ५ जून २०२४ मा स्टारलाइनर अन्तरिक्षयानमार्फत परीक्षण मिसनका लागि उडान भरेका थिए।

तर, आठ दिनपछि फर्किनुपर्ने निर्धारित योजना स्टारलाइनर अन्तरिक्षयानमा प्राविधिक समस्या उत्पन्न भएपछि अवरुद्ध बन्यो । उक्त यानमा आईएसएस नजिक पुगेपछि समस्या देखिएको थियो ।

यसका पाँच थ्रस्टरहरू (यानको दिशा नियन्त्रण गर्ने उपकरण) बन्द भएका थिए भने हिलियम आपूर्तिमा समाप्त देखिएको थियो ।

यसकारण यानलाई जलनशील इन्धनमा निर्भर रहनुपर्‍यो, जसले गर्दा दुवै अन्तरिक्षयात्रीको पृथ्वी फर्कने योजना स्थगित हुन पुग्यो।