आज अवकाश हुँदै आईजी कुँवर, को बन्ला नयाँ प्रहरी प्रमुख ?

काठमाडौं, ४ चैत । आज सोमबार राति १२ बजेबाट नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर अनिवार्य अवकाशमा जाँदैछन् । अवकाशमा जान लागेका कुँवरलाई आइतबार नै सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गरिसकेको छ ।
आज सोमबार प्रहरी हेडक्वाटरले कुँवरको बिदाइ गर्दै छ । विद्यमान प्रहरी नियमावलीअनुसार ३० वर्षे उमेर सेवा अवधिका कारण उनी अवकाशमा जानलागेका हुन ।
कुँवर अवकाशमा जाने भएसँगै ३१ औं आईजी को बन्छन् भन्ने बिषय प्रमुख चासोको बिषय बनेको छ । ३१ औं आईजीका तीन एआईजीहरु प्रतिस्पर्धामा रहेका छन । जसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख तथा एआईजी कार्यरत दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)का प्रमुख तथा एआईजी सुदीप गिरी र काठमाण्डू उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी टेकबहादुर तामाङ छन् ।
उनीहरू तीन जनामध्ये एक जनालाई सरकारले आईजीमा बढुवा गर्नेछ । आईजी बढुवाका लागि आज मन्त्रीपरिषद् बैठक बस्ने बताइए पनि समय भने अहिलेसम्म तय भई सकेको छैन । अहिले आईजीपीको प्रतिस्पर्धामा रहेका तीनै जना हालका आईजीपी कुँवरकै ब्याचको वैकल्पिक टोलीका रुपमा भदौ २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका थिए ।
२६ फागुन २०७९ मा एआईजीमा सिफारिस भएका दीपक थापालाई ६ चैत २०७० को मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । थापा एआईजी भएको दुई सातापछि गिरी र तामाङ पनि एआईजीमा बढुवा भएका थिए ।
१३ चैतमा सुदीप गिरी र टेकबहादुर तामाङ एआईजी बढुवाको लागि सिफारिस भएका थिए । तीनै जना ३१ औं आईजी बन्ने दौडमा छन् । उनीहरु आफू निकटका शक्तिकेन्द्र मार्फत बढुवाका लागि लविइङ गरिरहेको बुझिएको छ ।