राष्ट्रिय सहमतिको सरकारको चर्चाबारे एमाले भन्यो - यो बेमौसमी विषय हो

काठमाडौं, ४ चैत । सत्तारुढ दल नेकपा एमालेले राष्ट्रिय सहमतिको सरकारबारे अहिले चलिरहेको चर्चालाई बेमौसमीको संज्ञा दिएको छ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले संकटको अवस्थामा कसैले पनि सत्तामा जाने भर्याङ बनाउन नहुने बताए।
राष्ट्रिय सहमतिको सरकारबारे उनले भने, ‘यो एकदमै बेमौसमी विषय हो। अहिलेको परिस्थितिमा सरकारबारे कुरा गर्नेहरूमाथि नैतिक प्रश्न उठ्ने उनले बताए।
उनले भने ,‘यो बिषयमा हामी प्रवेश गरेनौं। यस्तो बेलामा पनि भागबन्डा खोज्ने भनेको चाहिँ हामी गणतन्त्रको पक्षमा उभिन खोजेको हो कि यसलाई सत्तामा जाने भर्याङ बनाउन खोज्या हो?’
आइतबारमात्र माओवादीका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको भन्दै प्रारम्भिक छलफलसमेत सुरू भएको बताएका थिए।