मोरङको आगलागीमा परेका भनिएका बालक सकुशल भेटिए, एकको मृत्यु

विराटनगर, ५ चैत । मोरङको धनपालथान गाउँपालिकामा आगलागीका क्रममा बेपत्ता भनिएका बालक सकुशल फेला परेका छन् । एक जना बालिकाको भने जलेको अवस्थामा शव फेला परेको छ ।
धनपालथान– ६ को कदमा गाउँमा मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले बताएको थियो ।
तर, आगलागीमा परेको भनिएका बालक सम्पर्कमा आएको मोरङ प्रहरी प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले अनलाइनखबरलाई बताए ।
अनित मियाकी ४ वर्षीय छोरी रेश्मा खातुनको शव फेला परेको छ ।
आगलागीमा परेको भनिएका अर्का ६ वर्षीय बालक अर्शद अली सम्पर्कमा आएका हुन् । उनी अनितका छोरा हुन् ।
घटनास्थल पुगेर फर्किएका मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार बालक घर नजिकै बारीमा फेला परेका हुन् । उनको अवस्था सामान्य छ ।
प्रहरीका अनुसार आज दिउँसो सुरु भएको आगलागीमा परी ९ वटा घर जलेका छन् । आगो लगभग नियन्त्रणमा आएको डिएसपी जोशीले जानकारी दिए ।