गणतन्त्र ल्याउन भिलेनको रुपमा ज्ञानेन्द्रको पनि भूमिका थियो : प्रचण्ड

काठमाडौं, ५ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र ल्याउने बेलामा तत्कालिन राजा ज्ञानेन्द्र शाहले पनि आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले त्यतिबेला ज्ञानेन्द्रले मुर्खतामार्फत आफूहरूलाई सहयोग गरेको टिप्पणी गरेका हुन् । ज्ञानेन्द्रले मुर्खता नगरेको भए अझै केहीवर्ष राजतन्त्र टिक्न सक्ने उनको भनाइ थियो ।
‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गर्दा त्यतिबेला तत्कालिन राजा ज्ञानेन्द्र, अहिले त पूर्वराजा भन्ने गरिएको छ । हामीले जनयुद्ध र जनक्रान्तिमार्फत गणतन्त्रको निम्ति आधार तयार पार्यौं । ज्ञानेन्द्रले आफ्नो मुर्खतामार्फत पनि हामीलाई सहयोग गरेकै हो,’ प्रचण्डले थप व्याख्या गर्दै भने, ‘उनले धेरै मुर्खता नगरेको भए सात राजनीतिक दलमाथि दमन नगरेको भए, नेताहरूलाई उनैको पछि लाग्छु भनेर आत्मसमर्पण गर्दा लात्ताले नहानिदिएको भए सायद केही वर्ष टिक्न पनि सक्थ्यो ।
भिलेनको रुपमा ज्ञानेन्द्रको भूमिका पनि महत्त्वपूर्ण भूमिका छ ।’