कांग्रेस-एमालेसँगको सहकार्यले घाटा भएको प्रमाणित भयो : प्रचण्ड

काठमाडौं, ७ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएका निर्वाचनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेसँग सहकार्य गर्दा आफ्नो पार्टीलाई घाटा भएको कुरा अहिले प्रमाणित भएको बताएका छन् ।
पार्टीको जिल्ला समन्वय समिति, बाराले आयोजना गरेको तराई–मधेश जागरण सभालाई सम्बोधन गर्दै उनले गत उपनिर्वाचन र अहिले जारी स्ववियु निर्वाचनको परिणामले उक्त अवस्था देखाएको जिकिर गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एमाले र कांग्रेसले अब माओवादी केन्द्र आफ्नौ खुट्टामा उभिन सक्दैन भनेर स्थापना गर्न थालेको भाष्य गलत सावित भएको पनि बताए ।
‘भर्खरै स्ववियुको निर्वाचन सम्पन्न भएको छ । केही कलेजमा बाँकी छ । त्यो निर्वाचनमा युवा विद्यार्थीहरूको रुझान, चेतना कतातिर जाँदैछ भन्ने कुराको बडो राम्रो संकेत दिइएको छ,’ प्रचण्डले भनेका छन् ।
उनले केही क्याम्पसहरूमा नयाँ इतिहास रचना भएको भन्दै यसअघिका सहकार्यबाट माओवादीलाई घाटा भएको बताए ।
‘यो पटक साँच्चै केही नयाँ इतिहासको रचना भएको छ । हिजो माओवादी केन्द्र अब अरुको वैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरूले बनाएका थिए,’ अध्यक्ष प्रचण्डले भने, ‘गएको उपचुनावमा हामी आफ्नै खुट्टामा उभिएर परिणाम आफ्नो पक्षमा पार्न सक्छौं भन्ने बनाएका थियौं ।’
प्रचण्डले अघि थपे, ‘वास्तवमा हामी कहिले कांग्रेस र एमालेसँग सहकार्य गर्दा हामीलाई घाटा भएको नै प्रमाणित भयो ।’