कांग्रेस सरकारमा छ, तर सुशासन पटक्कै छैनः शेखर कोइराला

काठमाडौं, ७ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले आफ्नो पार्टी सरकारमा भएपछि सुशासन भने नरहेको बताएका छन् । आज (बिहीबार) गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा आयोजित ‘गिरिजाप्रसाद र लोकतन्त्र’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले देशमा सुशासन नरहेको बताएका हुन् ।
'हामी सरकारमा छौं, नेपाली कांग्रेस सरकारमा छ। हामीले सुशासनको लागि त कुरा गर्नुपर्यो, भन्न त नहुने, सुशासन पटक्कै छैन भनेपनि हुन्छ,’– नेता कोइरालाले भने ।
कांग्रेस–एमाले गठबन्धन सरकारले योग्यताको आधारमा नभएर आफूलाई मन परेको आधारमा कर्मचारीको नियुक्ति र बढुवा गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन लागेको खण्डमा मेरिट लिस्टको ३ नम्बरमा रहेको व्यक्तिलाई नियुक्ति गरिदिने गरेको उनले सुनाए । कांग्रेस सत्तापक्ष भएपनि सरकारमा रहेको भान नरहेको उनले बताए ।