भोलिका लागि तोकिएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित

काठमाडौं, ७ चैत । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ। त्रिवि कीर्तिपुर स्ववियु निर्वाचन समितिले सूचना जारी गर्दै भोलि (शुक्रवार) तोकिएको स्ववियु निर्वाचन स्थगित भएको जानकारी दिएको हो।
त्रिवि कीर्तिपुर स्ववियु निर्वाचन समितिले उच्च अदालत पाटनले दिएको अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित हुने जनाएको छ।
पत्रमा भनिएको छ, ‘त्रिवि क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही ८ गते विहान ८ बजेदेखि ५ बजेसम्म तोकिएकोमा विष्णुबहादुर बडैला समेतले स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको निर्वाचन समिति समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा रिट निवेदन दायर गर्नु भएकोमा सम्मानित अदालतबाट ‘निवेदकले दिन’ भनि चैत्र ६ गते अन्तरिम आदेश जारी भएको म्याद सूचना चैत ७ गते प्राप्त भएको र निर्वाचन समितिसमेतको तर्फबाट ७ मा अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरुको नाममा म्याद तामेल नभएकोले यही चैत १० को दिनलाई तोकिएकोले सो अन्तरिम आदेशको छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित गरिएको ब्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।’
त्रिवि क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचन विविध कारण चैत ५ गते हुन नसकेपछि ८ गतेको लागि तोकिएको थियो।