शुक्रबार ०८ चैत, २०८१

गिरिजालाई सम्झँदै प्रचण्डले भने- ‘भरोसा टुट्न दिने छैन’

गिरिजालाई सम्झँदै प्रचण्डले भने- ‘भरोसा टुट्न दिने छैन’

काठमाडौं, ७ चैत ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरमा हस्ताक्षर गर्दाको तस्वीर साझा गर्दै गिरिजाप्रसाद कोइरालालाई सम्झिएका छन् । कोइरालाको १५औं स्मृति दिवसको अवसरमा सम्मान प्रकट गर्दै प्रचण्डले कोइरालासँगको तस्वीर साझा गरेका हुन् ।

‘नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता दिवंगत गिरिजाप्रसाद कोइरालाको १५औं स्मृति दिवसको अवसरमा उहाँप्रति हार्दिक श्रद्धा एवं सम्मान प्रकट गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

१ फागुन २०५२ देखि चलेको १० वर्षको सशस्त्र संघर्षलाई शान्तिपूर्ण आन्दोलनमा रुपान्तरण गर्ने क्रममा कोइरालासँग ऐतिहासिक सहकार्य गरेका प्रचण्डले उनले दिएका सुझाव कहिल्यै नबिर्सने बताएका छन् ।

‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन,’ प्रचण्डले लेखेका छन् । ‘त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’

५ मंसिर २०६३ मा तत्कालीन प्रधानमन्त्री कोइराला र नेपाल कम्युनिष्ट पार्टी ९माओवादी०का अध्यक्ष प्रचण्डबीच भएको विस्तृत शान्ति सम्झौता भएको थियो ।

सोही सम्झौताका आधारमा अन्तरिम संविधान, दुई पटक संविधानसभाको निर्वाचन, संविधान निर्माणलगायतका काम पूरा भएर मुलुकले वर्तमान राजनीतिक उपलब्धि आर्जन गरेको हो ।