तीनकुनेमा झडपमा परि प्रहरीसहित पाँच जना घाइते

काठमाडौं । राजावादीहरुको प्रर्दशनको क्रममा प्रहरीसँग झडप हुँदा पाँच जना घाइते भएका छन् ।
दुई प्रहरी र तीन प्रदर्शनकारी घाइते भएका हुन् । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
राजावादीहरू प्रहरीेको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप भएको थियो । राजावादीहरू नरोकिएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तनावग्रस्त भएपछि प्रहरीले हवाई फायर गरेको छ । राजावादी समर्थकले व्यक्तिको घरमा आगजनी र ढुंगामुढा गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो ।
घरमा लागेको आगो निभाउन गएको दमकललाई पनि प्रदर्शनकारीले ढुंगा हानेपछि दमकल आगो निभाउन नसकी फर्किएको छ । तर, सुरूदेखि नै उत्तेजित रहेका प्रदर्शनकारीले सडकमै प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए। राजावादीहरुले तीनकुनेमा गर्न लागेको सभा सुरु हुन नपाई बिथोलिएको छ । राजावादी समूहको प्रदर्शन उग्र बनेपछि तीनकुने अहिले तनावग्रस्त बनेको छ ।