प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि आज थाइल्याण्ड प्रस्थान गर्दैछन्।
भ्रमणका क्रममा उनले थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावातसँग द्विपक्षीय वार्ता गर्ने, विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने र संयुक्त प्रेस ब्रिफिङमा सहभागी हुने कार्यक्रम छ।
प्रधानमन्त्री ओली बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भई सम्बोधन गर्नेछन्। साथै, प्रतिष्ठित व्यवसायीहरूसँग भेटघाट, एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा सम्बोधन, मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हस्ताक्षर तथा नेपाली दूतावासको कार्यक्रममा पनि सहभागी हुनेछन्।
उनको भ्रमण टोलीमा प्रथम महिला, परराष्ट्रमन्त्री, प्रमुख सल्लाहकार, सुरक्षाकर्मी तथा सञ्चारकर्मी गरी २१ जना रहेका छन्।
साथै, २६ जना उद्योगी व्यवसायी पनि भ्रमणमा सहभागी हुनेछन्। प्रधानमन्त्री ओली चैत २३ गते स्वदेश फर्किने कार्यक्रम छ।