बुधबार ०२ पुस, २०८२

तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

तीनकुने घटना : रवीन्द्र र धवलसहित २० जनालाई १५ दिनको म्याद थप

काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित २० जनालाई १५ दिन हिरासतमा राख्न म्याद थप भएको छ।

काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न थप १५ दिनको म्याद दिएको हो ।​

राज्यविरुद्धको कसुरमा मिश्र र राणासहित गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्का, हरिहर चौलागाईं, विष्णु पराजुली, धर्मगुरू बताउने पुष्कर खतिवडा, मुनिन्द्रराज भण्डारी, कुमार बस्नेत, अनिलकुमार थापा, तारानाथ बोहरा, दानबहादुर न्यौपाने, उमेश तामाङ, भानुभक्त पौडेल, विष्णुजंग बस्नेत, देवीप्रसाद संग्रौला र प्रेम थापा मगरमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ ।

त्यस्तै, यी २० जनासहित ५३ जनामाथि आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको छ।

यी दुई मुद्दामा अनुसन्धान गर्न अदालतले २० दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ।

चैत १५ मा भएको हिंसात्मक प्रदर्शनमा संलग्न आरोपीहरूलाई अहिले पनि प्रहरीले पक्राउ गर्दै आएको छ ।

सोमबार मात्रै ६ जनालाई पक्राउ गरेको थियो ।

प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सीसीटीभी फुटेजलगायतका आधारमा पक्राउ गर्दै आएको छ ।

हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो।