बुधबार ०२ पुस, २०८२

राप्रपाले चाह्यो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिनसक्छ : लिङ्देन

राप्रपाले चाह्यो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिनसक्छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री निवास बालुवाटार घेरेर भातपानी बन्द गराइदिने शक्ति राप्रपासँग रहेको बताएका छन्। बल्खुमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष लिङ्देनले आफूहरूलाई कमजोर नठान्न आग्रह गरे।

'भृकुटीमण्डप छाडेर बल्खु आयो भनेर राप्रपालाई कमजोर नठानियोस्। यस्तो जुलुस चारतिर पेल्दियो भने क-कसलाई गोली हान्नुहुन्छ?,' उनले प्रश्न गरे, 'राप्रपाले चाह्यो भने बालुवाटार घेरेर भातपानी बन्द गरिदिन सक्छ।' 

अध्यक्ष लिङ्देनले आफ्ना नेताहरू पक्राउ परेको विषयलाई इखको रूपमा लिएको बताए। उनले उपाध्यक्ष रविन्द्र मिश्र र सांसदसमेत रहेका धवल शमशेर राणालाई पक्राउ गरेको प्रति आपत्ति जनाए।

'चुनाव जितेका जनताका प्रतिनिधिलाई जसरी खोरमा अपमानित ढंगले राख्नुभएको छ। उपाध्यक्षलाई जसरी हतकडी लगाएर राख्नुभएको छ। त्यसलाई हामीले इखको रूपमा लिएका छौं,' उनले भने, 'राजा चाहिन्छ भनेका कारण मान्छेलाई थुन्ने हो भने हामी लाखौं मान्छे पक्रिन तयार छौं। जेल खाली गर्नुस्। लुटतन्त्र हामीले हेरेका छौं। त्यसैले आफू जाने जेल पनि राम्रो बनाएर राख्नुस्,' उनले भने।