हवाई दुर्घटनामा मृतकका परिवारलाई दिइने क्षतिपूर्ति १ लाख डलर पुर्याइँदै
काठमाडौं । सरकारले आन्तरिक उडान क्रममा हवाईजहाज दुर्घटनामा परी ज्यान गुमाउने यात्रुका परिवारले पाउने क्षतिपूर्ति रकम बढाउने तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को मस्यौदा सार्वजनिक गरेसँगै क्षतिपूर्ति रकम बढाउने तयारी भएको हो ।
सरकारले लामो समयदेखि क्षतिपूर्ति बापत बीमा रकम बढाउन प्रक्रिया थाले पनि सफल हुन सकेको छैन । २०८० सालमै मन्त्रिपरिषद्ले आन्तरिक वायुसेवाको दायित्व तथा बीमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।
अहिले आन्तरिक उडानमा जहाज दुर्घटना हुँदा मृतकका परिवारले २० हजार अमेरिकी डलर (सोमबारेका विनिमय दरअनुसार २७ लाख २० हजार रुपैयाँ) मात्र क्षतिपूर्ति पाउँछन् ।
अब यसलाई ५ गुणा बढाएर १ लाख डलर अर्थात् १ करोड ३६ लाख रुपैयाँ बराबर पुर्याउने प्रस्ताव विधेयकको मस्यौदामा समेटिएको छ ।
