ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई बिक्री बन्द हुने
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन गरिएको ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ अन्तर्गत सर्वसाधारणमा खुला गरिएको इकाई बिक्रीको प्रक्रिया २०७२ असार २७ गते बैंकिङ समयपछि बन्द गरिने भएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेड कोष प्रवद्र्धक तथा ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका उक्त योजना अन्तर्गत प्रति इकाई अंकित मूल्य रु.१० को दरले कुल १२ करोड इकाई मध्ये न्यूनतम ६ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था रहेको थियो।
सो योजना अन्तर्गत, व्यवस्थापक कम्पनी ग्लोबल आइएमई क्यापिटलले १.५ प्रतिशत अर्थात १८ लाख इकाई, तथा प्रवद्र्धक कम्पनी ग्लोबल आइएमई बैंकले १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई बीजपूँजीको रूपमा सुरक्षित राखेका थिए। बाँकी १० करोड २० लाख इकाई मिति २०८२ असार २२ गतेदेखि सर्वसाधारणका लागि निष्कासनमा ल्याइएको थियो।
सर्वसाधारणबाट प्राप्त अत्यधिक आवेदनका कारण तोकिएको इकाई संख्या मागभन्दा बढी भइसकेकोले असार २७ गतेको बैंकिङ समयपछि आवेदन लिन नपाइने व्यवस्था गरिएको छ।
योजना व्यवस्थापकले दिएको जानकारीअनुसार, मागभन्दा बढी आवेदन प्राप्त भई अधिकतम २५ प्रतिशत इकाई थप भई योजनाको कुल आकार १ अर्ब ५० करोड रुपैयाँसम्म पुग्ने पूर्ण विश्वास लिइएको छ।
निष्कासन कार्यमा सहयोग गर्ने नियामक निकाय, ASBA सदस्य बैंक तथा वित्तीय संस्था, सञ्चार माध्यम, लगानीकर्ता र सबै सरोकारवालाप्रति व्यवस्थापक कम्पनीले आभार व्यक्त गरेको छ।
