बुधबार ०२ पुस, २०८२

नेपालमै पहिलोपटक घाँटीबाट नशा खोलेर बिनासर्जरी मस्तिष्कघातको उपचार

नेपालमै पहिलोपटक घाँटीबाट नशा खोलेर बिनासर्जरी मस्तिष्कघातको उपचार

काठमाडौं । नेपालमै पहिलोपटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नशा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरीबिना गरिन्छ ।

यो प्रविधामा शरीरको कुनै भाग हात, खुट्टा वा घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गराई दिमागको समस्या भएको भागमा पुगेर उपचार गरिन्छ ।

‘यो केसमा बिरामीको नशा बन्द भएको थियो, त्यसलाई घाँटीबाट सिधा तार पठाएर खोलेर जाम हटाइएको हो,’ न्यूरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलले बताए ।

न्यूरो इन्टरभेन्सन विधि प्रयोग गरी सर्जरी नगरी गरिएको मस्तिष्कमा जमेको रगतको भागमा भ्याकुम वा झिल्ली प्रविधिको सहायताले अवरुद्ध रक्तसञ्चार पुनः सुचारु गरिन्छ ।

यस्तो विधिबाट मस्तिष्कमा फुटेको रगत भएमा त्यसलाई निकाल्न, वा रगत जमेको भए त्यसलाई हटाउन सकिन्छ । ती बिरामी ४२ वर्षीय पुरुष थिए । उनी लक्षण देखिएको १२ घण्टा भित्रै अस्पताल आइपुगेका थिए ।

उपचारमा संलग्न डा. पौडेलका अनुसार ती बिरामी दायाँतर्फको हातखुट्टा नै नचल्ने अवस्थामा आइपुगेका थिए । ती बिरामी तीन हप्ताअघि पाटन पुगेका थिए । दुई दिनमा ती बिरामीको डिस्चार्ज गरिएको थियो ।

‘मस्तिष्कघात भएका बिरामीको उपचार २४ घण्टाभित्र मात्र गर्दा नतिजा राम्रो निस्किन्छ । त्यसपछि गर्दा परिणाम दिँदैन,’ उनले भने, ‘बिरामी समयमै आइपुगेकाले प्यारालाइसिस हुनबाट बचाउन सफल भयौं ।’

नेपालमा घाँटीबाट गरिने यस्तो न्युरो इन्टरभेन्सन उपचार यो पहिलोपटक हो । बिरामीको घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गरेर दिमागको बन्द नशा खोलिएको हो । यो प्रविधि न्युरो इन्टरभेन्सन अन्तर्गत पर्दछ, जुन सर्जरीबिना गरिने नयाँ उपचार प्रविधि हो ।

‘यो उपचार घाँटीबाट तार र क्याथेटर पठाएर गरियो,’ डा. पौडेलले भने, ‘यो प्रक्रिया हात वा खुट्टाबाट पनि गर्न सकिन्छ, तर त्यो अप्ठ्यारो र ढिलो हुनसक्छ ।’ चिकित्सकका अनुसार कहिलेकाहीँ खुट्टाबाट तार पठाउँदा नशा बाङ्गो-टिङ्गो भएकाले लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।

‘खुट्टाबाट गर्दा नशा पुग्न गाह्रो, उपकरण बढी प्रयोग गर्नुपर्ने, समय बढी लाग्ने र खर्च पनि धेरै पर्ने अवस्था आउँछ,’ उनले भने, ‘तर घाँटीबाट गर्दा ती सबै चुनौती हट्छन्, छिटो हुन्छ र खर्च पनि कम हुन्छ ।’

ती चिकित्सकका अनुसार हात-खुट्टाबाट उपचार सम्भव नभएको खण्डमा घाँटीबाट सानो तार पठाएर उपचार गरिन्छ । डा. पौडेलले भारतको एम्स, नयाँदिल्लीबाट डीएम न्यूरो इन्टरभेन्सनको तीनवर्षे विशेष तालिम लिएर फर्किएका छन् र पछिल्लो एक वर्षदेखि पाटन अस्पतालमा कार्यरत छन् ।

उनका अनुसार यो प्रविधि महँगो उपकरण, सशक्त टिम र विशेष तालिमबिना सम्भव छैन ।