शनिबार २७ मंसिर, २०८२

एमालेले ‘दुई पुस्ता सँगसँगै’ अभियान सुरु गर्ने

एमालेले ‘दुई पुस्ता सँगसँगै’ अभियान सुरु गर्ने

काठमाडौं । नेकपा एमालेले युवा पुस्तालाई पार्टी निर्माण प्रक्रियामा समावेश गर्दै ‘दुई पुस्ता सँगसँगै’ नामक नयाँ संगठनात्मक अभियान सुरु गर्ने भएको छ। पार्टीको केन्द्रीय संगठन विभागको बैठकले उक्त निर्णय गर्दै देशभरका करिब १७ हजार टोलस्तरीय कमिटी गठन गर्ने तयारी गरेको छ।

संगठन विभागका सदस्य विशाल भट्टराईका अनुसार यो अभियानले नयाँ पुस्तालाई पार्टी निर्माणसँग जोड्ने र संगठनको गहिराइसम्म युवा सहभागिता विस्तार गर्ने लक्ष्य लिएको छ। उनले भने, “पार्टी निर्माण अभियानमा हिँड्दा युवा पुस्तालाई पनि सँगै लैजाने हाम्रो योजना हो, त्यसैले यो अभियानलाई ‘दुई पुस्ता सँगसँगै’ भनिएको हो।”

बैठकले देशभरका जिल्ला संगठनहरुलाई आफ्नो संगठनात्मक प्रोफाइल तयार पार्न निर्देशन दिएको छ। साथै, जनसंगठनहरुलाई पनि ग्रासरुट तहसम्म विस्तार गर्ने निर्णय भएको छ।

एमालेले मंगलवार एक विज्ञप्ति जारी गर्दै गत वर्ष माघदेखि चैतसम्म सञ्चालन गरेको वडा केन्द्रित ‘जरा अभियान’ले पार्टी गतिविधिमा उल्लेखनीय सुधार ल्याएको दाबी गरेको छ। संगठन विभागका सचिव माधव ढुंगेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “जरा अभियानले पार्टी सदस्यता नविकरण, अधिवेशन, स्थानीय कमिटी सुदृढीकरण तथा कार्यान्वयन क्षमतामा उल्लेख्य सुधार ल्याएको छ।”

विज्ञप्तिमा जनतासँग पार्टी र कार्यकर्तासँग नेताबीचको सम्बन्धमा सुधार आएको उल्लेख गर्दै समय पुगेका जनसंगठनहरूको अधिवेशन सफलतापूर्वक सम्पन्न भएको पनि उल्लेख गरिएको छ।