बुधबार ०२ पुस, २०८२

छानबिन समितिको निष्कर्ष : सौर्य एयरलाइन्स दुर्घटनामा क्रु-मेम्बरदेखि प्राधिकरणसम्म दोषी

छानबिन समितिको निष्कर्ष : सौर्य एयरलाइन्स दुर्घटनामा क्रु-मेम्बरदेखि प्राधिकरणसम्म दोषी

काठमाडौँ । सौर्य एयरको विमान दुर्घटनासम्बन्धी अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ । शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिनका लागि गठित समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेको हो । 

उक्त प्रतिवेदनमा टेकअफको क्रममा आवश्यकभन्दा कम गतिमा, असामान्य रूपले तीव्र गतिमा ‘एयरक्राफ्ट नोज’लाई माथि उठाउन खोज्दा विमान डीप स्टलमा जानु नै दुर्घटनाको मुख्य कारण रहेको औँल्याइएको छ । 

डीप स्टल भनेको यस्तो अवस्था हो जसमा विमान उड्नका लागि चाहिने न्यूनतम गति नपुग्दै पाइलटले विमानको अगाडिको भागलाई निकै छिटो र धेरै माथि उठाउँछन् । यो अवस्थाका कारण विमानले हावामा आफ्नो सन्तुलन गुमाएको र अनियन्त्रित भई खसेको समितिको निष्कर्ष छ । 

प्रतिवेदनले दुर्घटना हुनुमा कुनै एक व्यक्ति वा संस्थालाई ‘दोषी’ करार गरेको छैन । तर, धेरै पक्षलाई यसको जिम्मेवार ठहर्‍याएको छ । 

वायुसेवा सञ्चालक कम्पनी सौर्य एयरलाइन्सले लामो समयदेखि आफ्ना पाइलटहरूलाई गलत भी–स्पिड भएको स्पिडकार्ड प्रयोग गर्न दिएको थियो। यो त्रुटि पत्ता लगाउन र सच्याउन एयरलाइन्स पूर्ण रूपमा असफल रहेको समितिको निष्कर्ष छ। यही नै दुर्घटनाको एक प्रमुख सहयोगी कारक थियो ।

पाइलटहरूले बारम्बार तीव्र पिच रेटमा टेकअफ गरिरहेको कुरा एयरलाइन्सको व्यवस्थापनले थाहा पाउन नसकेको वा त्यसलाई रोक्न कुनै कदम नचालेको समितिको अर्को आरोप छ । यसलाई समितिले ‘सिस्टमेटिक इरर’ भनेको छ ।  

ग्राउण्ड ह्यान्डेलिङमा पनि लापरबाही भएको रिपोर्टमा उल्लेख छ । सामानको तौल नगर्नु, सामानलाई क्याबिनभित्र जथाभावी राख्नु र त्यसलाई डोरी वा नेटले सुरक्षित नबाँध्नु एयरलाइन्सको गम्भीर लापरबाही रहेको निष्कर्ष रहेको छ । उडान प्रक्रियामा अन्तर्राष्ट्रिय अभ्यासको पालना नभएको समेत समितिको निष्कर्ष छ । 

दुर्घटनामा चालक दलको समेत कमजोरी भेटिएको छ । खासगरी गलत गतिको प्रयोग, अत्यधिक पिच रेट र त्रुटि पत्ता लगाउन असफल हुनुमा चालक दलको कमजोरी मानिएको छ । फर्स्ट अफिसरले भीस्पिडले गलत स्पीडकार्ड हेरेर टेकअफको गति गणना गरेको र क्याप्टेनले त्यसलाई जाँच नगरीकनै स्वीकार गरे ।

त्यस्तै, क्याप्टेनले उडान सुरक्षाको हिसाबले गम्भीर गल्ती मानिने गरी एयरक्राफ्ट नोजलाई खतरनाक रूपमा छिटो माथि उठाएको निष्कर्ष छ ।  लामो समयदेखि प्रयोगमा रहेको स्पीडकार्डमा भएको गल्ती चालक दलका कुनै पनि सदस्यले पत्ता लगाउन नसकेको समेत उल्लेख गरिएको छ । 

उक्त रिपोर्टमा नागरिक उड्डयन प्राधिकरणको समेत कमजोरी औँल्याइएको छ । कमजोर निरीक्षण र नियमन, उडान डाटा निगरानीको अभाव, अधुरो डाटा रेकर्डिङ प्राधिकरण कमजोरीको रूपमा प्रतिवेदनमा उल्लेखित छ । 

एयरलाइन्सले गरिरहेका गलत स्पीडकार्डको प्रयोग, कार्गो ह्यान्डलिङमा लापरबाही जस्ता गम्भीर गल्तीलाई प्राधिकरणले पत्ता लगाउन नसकेको, प्राधिकरणले एयरलाइन्सलाई उडान डाटा निगरानी कार्यक्रम अनिवार्य र प्रभावकारी रूपमा लागू गराउन नसकेको रिपोर्टमा उल्लेख छ । प्राधिकरणले यस्ता जोखिमपूर्ण अभ्यासहरूलाई समयमै पहिचान गर्न सक्ने ठाउँ रहेको प्रतिवेदनमा उल्लेख छ । विमानको ब्ल्याक बक्समा महत्त्वपूर्ण डाटाहरू रेकर्ड नभएकोबारे प्राधिकरण अनभिज्ञ रहेको प्रतिवेदनमा भनिएको छ । 

आपतकालीन व्यवस्थापनको काममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई समेत दोषी देखाइएको छ । दुर्घटनास्थलमा पुग्ने आपतकालीन बाटो बन्द हुनु र उद्धार तथा आगो निभाउने कार्य प्रभावकारी नहुनु विमानस्थल व्यवस्थापनको कमजोरी भएको प्रतिवेदनको निष्कर्ष छ । 

त्यस्तै, दुर्घटनास्थलबाट प्रमाणका रूपमा रहेका ब्यागेज सौर्य एयरलाइन्सको कार्यालयमा पुग्नुले विमानस्थलको सुरक्षा र व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको भनिएको छ ।