सोमबार २२ मंसिर, २०८२

रसुवा बाढी : ८४ करोड ३८ लाख बराबरको बीमा दाबी, कुन कम्पनीमा कति ?

रसुवा बाढी : ८४ करोड ३८ लाख बराबरको बीमा दाबी, कुन कम्पनीमा कति ?

काठमाडौं ।  गत असार २३ गते रसुवा (भोटेकोशी) मा आएको बाढी पहिरोको क्षतिबाट सवा ८४ करोड रुपियाँ बराबरको बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको पछिल्लो विवरणले बिभिन्न ११ निर्जीवन बीमा कम्पनीमा ८४ करोड ३८ लाख १० हजार रुपियाँ बराबरको दावी परेको देखाएको हो । 

गत असार २३ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवागढी केरुङ नाकामा राखिएको गाडी, ट्रक, कन्टेनर सहित बिभिन्न जलविद्युत् आयोजना र भौतिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको थियो ।

त्यसमा कति मूल्य बराबरको क्षति पुगेको छ भनेर अन्तिम तथ्यांक आउन बाँकी छ । यद्यपि, बीमा गरेकाहरुले कम्पनीमा बीमा दावी पेश गर्न सुरु गरेका छन् । त्यसमा हालसम्म ११ कम्पनीमा सवा ८४ करोड रुपियाँ बराबरको ६८ वटा दावी परेको छ । यस्तो दावी पर्ने क्रम जारी रहेको छ । यसमा जीवन बीमा तर्फको तथ्यांक भने समावेश छैन । बाढीमा मानिसहरुको मृत्यु समेत भएको छ । 

हालसम्म सम्पत्ति बीमा तर्फ मात्रै ५८ करोड एक लाख रुपियाँ बराबरको ६ वटा दावी परेको छ । यसैगरि सामुद्रिक बीमा (ढुवानी तथा आयात) तर्फ १६ करोड २३ लाख १० हजार रुपियाँ बराबरको सात वटा दावी परेको देखिन्छ ।

यसैगरी इन्जिनियरिङ तथा ठेकदार जोखिम बीमातर्फ पाँच करोड ४० लाख रुपियाँ बराबरको तीन, सार्वजनिक मोटर बीमा तर्फ दुई करोड ५९ लाख ५० हजार रुपियाँ बराबरको ३८ र निजी मोटर बीमा तर्फ दुई करोड १४ लाख ५० हजार रुपियाँ बराबरको १४ वटा बीमा दावी परेको छ ।

तथ्यांकअनुसार हिमालय एभरेष्टमा ५५ करोड रुपियाँ बराबरको दुई वटा दावी परेको छ । यसैगरि शिखर इन्स्योरेन्समा १६ करोड ८५ लाख १० हजार रुपियाँ बराबरको १२ वटा दावी परेको छ ।
 
यस्तै, नेको इन्स्यारेन्समा पाँच करोड १२ लाख रुपियाँ बराबरको ३, सगरमाथा लुम्बिनी इन्स्यारेन्समा दुई करोड ६५ लाख रुपियाँ बराबरको दुई, नेपाल इन्स्योरेन्समा एक करोड २८ लाख ५० हजार रुपियाँ बराबरको १२, युनाइटेड अजोड इन्स्योरेन्समा ९१ लाख रुपियाँ बराबरको तीन र आईजिआई प्रुडेन्सियल इन्स्योरेन्सम ७५ लाख ५० हजार रुपियाँ बराबरको नौ वटा दावी परेको छ । 

यस्तै, सानिमा जिआईसीमा ७५ लाख रुपियाँ बराबरको ६, एनएलजी इन्स्योरेन्समा ४७ लाख रुपियाँ बराबरको ६, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ३१ कलाख रुपियाँ बराबरको सात र प्रभु इन्स्योरेन्समा २८ लाख रुपियाँ बराबरको ६ वटा दावी परेको छ ।

स्रोतका अनुसार कम्पनीहरुले तत्काल आंशिक रुपमा एड्भान्स दाबी भुक्तानी दिनेछ् । अन्तिम भुक्तानी भने प्राविधिक मुल्यांकन गरेर दिइने बताइएको छ ।